योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोनाका कारण निधन

रासस

विहीबार, ११ मंसिर २०७७, १४ : ३४
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोनाका कारण निधन

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो । 

डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री डा.रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए । आयोगको सचिव बनेका डा.शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव भएका थिए । उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ शुरु गरेका थिए । शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।

स्व डा.शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन् । गत कात्तिक २० गते डा.शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापका बिरामी डा.शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ ।  काठमाडौँको वटुटोल निवासी  डा.शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी रहेका छन् ।