ओली र दाहाल बिच पुनः संवाद ठप्प, घरझगडा झनै पेचिलो

पत्रपत्रिकाबाट

बुधबार, १० मंसिर २०७७, ०७ : ५४
ओली र दाहाल बिच पुनः संवाद ठप्प, घरझगडा झनै पेचिलो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न घरझगडा पेचिलो बन्दै गएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बोलचाल बन्द भई शत्रुतापूर्ण व्यवहार प्रदर्शन हुन थालेको छ । पार्टी एकताको अढाइ वर्ष बित्दानबित्दै उनीहरूबीच मनमुटाव भएको हो । उनीहरूबीच एक महिनायता पहिलेजस्तो हार्दिकता साटासाट हुन सकेको छैन । कात्तिक २२ पछि दुई नेताबीच राम्रोसँग कुराकानी हुन सकेका छैन ।  

‘सचिवालय बैठकमा पनि विषयवस्तुमा मात्रै कुरा हुन्छ । कात्तिक २२ यता दुईपटक सचिवालय बैठक बस्यो तर दुई अध्यक्षबीच बोलचाल भएको देखिएन । बैठकमा दुई नेताबीच राम्रोसँग अनुहार पनि हेराहेर भएन,’ नेकपा स्रोतले भन्यो । उनीहरूबीच अहिले संवादको ढोका बन्द भएको स्रोतको दाबी छ ।

कार्यकारी अध्यक्ष दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा एकल राजनीतिक प्रतिवेदन पेस गरेपछि एकअर्काबीच शत्रुको जस्तै व्यवहार हुन थालेको ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा जेजे विषय उल्लेख गरिएका छन्, ती प्रतिपक्षी दलका नेताले लगाउने लाञ्छनापूर्ण आरोपका पुलिन्दा हुन्,’ ती सदस्यले भने, ‘व्यवहार निकै शत्रुतापूर्ण भएको छ ।

त्यसकारण अहिले दुवैजना एक ठाउँमा बस्न सक्ने अवस्था छैन ।’ अहिले ओली लचिलो हुन खोजे पनि दाहालले आफ्नो अडान नछाडेपछि झन् समस्या भएको ती सदस्यले बताए । ‘दाहालको एकल प्रतिवेदन आए पनि केही छैन, मिलेर जान केके गर्न सकिन्छ भनेर ओलीले केही साथीसँग छलफलसमेत गर्नुभयो तर दाहालले अब बैठकबाटै छिनोफानो हुने भनेपछि ओलीबाट पनि अर्को प्रतिवेदन तयार पार्ने कुरा भएको हो,’ ती सदस्यले भने, ‘अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीको प्रतिवेदन पेस हुन्छ ।’  

पार्टी महासचिव विष्णु पौडेलले भने अध्यक्षद्वयबीच संवादको ढोका बन्द नभएको दाबी गरेका छन् ।  ‘केही असजिला विषय आएकै हुन्, पार्टीभित्र मर्यादाका सीमा उल्लंघन भएका हुन् तर संवाद नै हुन नसक्ने तहमा पुगेको चाहिँ होइन । धेरै ठूला अन्तर्विरोध चर्किएका हुन्छन् तर संवादबाटै समाधान भएकै छन्,’ उनले भने ।

आगामी सचिवालय बैठकअघि दुई अध्यक्षले संवाद गरेर केही विषयवस्तु टुंग्याउन सक्ने सम्भावनासमेत रहेको उनको दाबी छ । तर ओलीनिकट स्रोतका अनुसार दाहालले प्रतिवेदन नै तयार पारेर शत्रुतापूर्ण व्यवहार देखाएका कारण पहिलाको जस्तो सहज अवस्थामा फर्किन समय लाग्नेछ । नागरिक दैनिकमा खबर छ ।