छिमेकीलाई गाली गर्दा युवकले गुमाए ज्यान

हत्यामा संलग्न दुईजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, ११ : ०२
छिमेकीलाई गाली गर्दा युवकले गुमाए ज्यान

रौतहट । रौतहटमा १९ वर्षीय युवक विकास पासवानको हत्या भएको छ ।  मादक पदार्थ सेवन गरेर छिमेकीलाई गालीगलौज गर्दा छिमेकीले कुटपिट गरेपछि घाइते भएको पासवानको उपचारको क्रममा मृत्यु भएको रौतहटका जिल्ला प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले बताए । 

सोमबार साँझ विकासले अत्याधिक मादक पदार्थ सेवन गरेर अमिरी पासवानलाई गालीगलौज गर्दै घर फर्किने क्रममा बाटोमा कुटिएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका विकासको गरुडास्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी शाहले जानकारी दिएका छन् ।

हत्यामा संलग्न छिमेकी अमिरी पासवान र विन्द पासपान पक्राउ दुईजना पक्राउ परेका छन् । 
गालीपछि आवेगमा आएका अमिरीले विकाससँग विवाद गरेको प्रहरीसमक्ष बयान दिएका छन् । सोहीबेला नजिकै रहेका विन्द पासवान समेत आएर विकासलाई कुटपिट गरेको अमिरीले बताएका छन् ।

‘कुटपिटबाट विकास भुँइमा लडे,’ अमिरीको भनाई उद्धृत गर्दै शाहले भने, ‘धकेल्दा लडेर टाउकोमा चोट लागेका विकासको उपचारको क्रममा गरुडास्थित सिटी अस्पतालमा गएराती मृत्यु भएको हो ।’

तत्कालै इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मृतकको शव पोष्टमार्टमका लागि गौरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस