काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो ।
आर्थिक वर्ष २०७५÷७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो भने २४१ जना घाइते भएका थिए । आव २०७६÷७७ मा भएको सवारी दुर्घटनामा १५२ ले ज्यान गुमाएका थिए भने ८५ जना घाइते भएका थिए । चालू आवको अहिलेसम्म भने सवारी साधन दुर्घटनाबाट ५० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष १० हजार सवारी साधन दुर्घटना भएकामा यो वर्षको अहिलेसम्म दुई हजार ६०० दुर्घटना भएको जनाइएको छ ।
हालै सरुवा हुनुभएका महाशाखाप्रमुख भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनमा विभिन्न कार्यक्रम अपनाइएको र सडक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनामा कमी आएको जिकिर गर्नुभयो । यसका साथै कोभिड–¬१९ का कारण सवारी सञ्चालन नहुँदा पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।
महाशाखाले दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसंँग निरन्तर समन्वय गरी नयाँ नयाँ योजना सञ्चालन गरेको आज जारी गरिएको एक सूचनामा जनाइएको छ । प्रविधिको प्रयोग गरिएको, तीव्र गति र लापरबाहीका साथ चलाउने, ओभरलोड बोक्ने, झल्लर र थप फोकस लाइट हाल्नेलाई कारबाही गरिएको, टिप्पर चलाउने समय निर्धारण गरिएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको उहाँको भनाइ छ ।
महाशाखाले यो बीचमा ४१० वटा अनावश्यक झालर र स्टिकर हटाएको, सात हजार बढी सवारीको ढालाक पछाडि अनिवार्य नम्बर प्लेट राखिएको, ४३५ फोकस बत्ती हटाइएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा दुर्घटना हुने गरेकाले त्यसलाई समेत हटाएको प्रहरीले जनाएको छ ।
यस्तै कारबाही अभियानलाई समेत तीव्र पारिएको महाशाखाले जनाएको छ । उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम कार्यान्वयनतर्फ चार लाख ४२ हजार ४६६ वटा सवारी साधनलाई कारबाही गरी रु २८ करोड ७१ लख ७७ हजार जरिवाना गरी राजश्व सङ्कलन गरेको महाशाखाले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न ‘हरेक दिन, एक अभियान’ तथा विशेष कारवाही अभियानमार्फत दैनिक सवारीको नम्बर प्लेट स्पष्ट नभएको र चर्को आवाज बनाई मोटरसाइकल चलाउनेलाई समेत कारबाही गरिएको छ ।
जथाभावी पार्किङ गर्ने, ढोका खुल्ला राख्ने, मोटरसाइकलको लुकिङ ग्लास ठीक अवस्थामा नराख्नेलाई समेत कारबाही गरिएको छ । यस्तै ठगी गर्ने आठ हजार ७०४ ट्याक्सी चालकलाई कारबाही गरी स्विप अपरेसनसमेत चलाएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ मंसिर २०७७, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते
झापामा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते