प्रचण्डको प्रस्ताव फिर्ता गराउने रणनीतिमा ओली

वरिष्ठ नेता झलनाथ खनाल भन्छन्,–‘त्यो प्रस्ताव हामी सबैको साझा प्रस्ताव हो, फिर्ता हुँदैन । मंसिर ३ मा सचिवालयमा छलफल हुन्छ’

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, ०९ : १६
प्रचण्डको प्रस्ताव फिर्ता गराउने रणनीतिमा ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कार्यशैली र प्रवृत्तिका विरुद्ध सत्तासिन दल नेकपामा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावले तरंग पैदा गरेको छ । दुई अध्यक्षका बीचमा कात्तिक २२ यता हुदैं आएको पत्र युद्धसँगै शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति उदांगो पार्ने गरी पार्टीमा छलफलका लागि १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।

प्रचण्डले पेश गरेको उक्त प्रस्ताव प्रचण्डको मात्र नभई सचिवालयका बहुमत नेताहरु वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको साझा प्रस्ताव भएको खनाल र गौतमले खुलासा गरिसकेका छन् । यो प्रस्ताव, दुई अध्यक्षले हस्ताक्षर गरेर नेताहरुलाई पठाएको अन्तरपार्टी निर्देशिका (अपानी) र दुई अध्यक्षका बीचमा आदानप्रदान भएका चिठि सम्म सचिवालयका सबै सदस्यहरुलाई वितरण गरेर अध्ययन पछि मंसिर ३ मा बैठक बस्ने बताईएको छ । तर प्रचण्डले राखेको प्रस्तावमा ओली पक्षले हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनभर छलफल गरेको बालुवाटार स्रोतले बतायो ।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सल्लाहकार विष्णु रिमाल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भटट्राईका बीचमा छलफल भएको थियो । छलफलले प्रचण्डको प्रस्ताव पार्टी फुटका रुपमा आएको निश्र्कष निकालेको सहभागी एक नेताले सफलखबरलाई बताए । उनीहरुले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र फिर्ता नभएका त्यसको जवाफी फायर कुनै न कुनै कडा कदम चालेर दिनुपर्ने निश्र्कष पनि निकालेको ति नेताले बताए ।

तर जवाफी कडा फायर के भन्ने विषयमा भने उनले समयक्रमसँगै जानकारी हुने मात्र बताए । यो छलफल पछि ओली पक्षधर नेताहरुले श्रृँखलाबद्ध रुपमा सामाजिक सन्जालबाट प्रचण्ड विरुद्ध अभिब्यक्ती दिदै प्रस्ताव फिर्ता हुनुपर्ने रोइलो गरेका छन् । प्रचण्डको प्रस्तावका सन्र्दभमा शनिबार बिहानै ओली पक्षका नेता शंकर पोखरेलले प्रस्ताव फिर्ता लिनुपर्ने बताएका थिए । दिउँसो बालुवाटारमा भएको छलफल पछि भने प्रचण्डको प्रस्ताव पार्टीका कुनै पनि कमिटिमा छलफल नगराउने, छलफल हुनै नदिने, प्रस्ताव फिर्ता लिनुपर्ने, प्रस्ताव फिर्ता नलिए पार्टीको बैठक समेत बस्न नदिने रणनीति पहिलो चरणमा बनाएका स्रोतले बताएको छ । यसको संकेत बालुवाटारको छलफल पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सन्जालमार्फत समेत गरेका छन् ।

त्यहाँ उनले प्रस्ताव फिर्ता लिनुपर्ने, प्रस्ताव फिर्ता नगरे कुनै तहको बैठक र छलफल गर्ने त के सम्वाद समेत शत्रुवत र निरर्थक बन्न पुगेको बताएका थिए । उनले समाजिक सन्जालमा लेखेका थिए ,–‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।  यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन् । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’ 

थापाको यो स्टाटसबाट पनि बुझन सकिन्छ, प्रचण्डको प्रस्तावले ओली क्याम्पमा भूकम्प नै गएको छ । पार्टी र सरकारमा सधै स्वेच्छाचारी र एकलौटी ढंगले चल्दै आएका प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर प्रचण्डले आफनो प्रस्तावमा उनका सबै कतुर्तहरुको उदांगो पारिदिएपछि ओली पक्ष अहिले प्रस्ताव फिर्ता गर्नुपर्ने अड्डीमा लागेको छ । आफु अनुकुल भए बैठक हुने नत्र नहुने ओली पक्षको आफ्नो रणनीति देखिन्छ । पार्टीमा सधै अनुकुलता खोजेर मात्र बैठक राख्न खोज्ने ओलीको प्रवृतिसँग नझुक्ने र तोकिएको समयमै पार्टी बैठक बस्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

‘प्रस्ताव किन फिर्ता हुन्छ ? उहाँ (प्रधानमन्त्री) पक्षले जे भन्यो, त्यही मात्र हुन्छ, उहाँहरुले जे भन्यो त्यही लुरुलुरु मानिदिनुपर्ने हो र ? प्रचण्डले हामीसँग पनि छलफल गरेर प्रस्ताव ल्याउनु भएको हो । त्यो फिर्ता हुदैन । सचिवालयमा छलफल हुन्छ । सचिवालय बैठक मंसिर ३ मा तय भईसकेको छ, त्यही छलफल हुन्छ अब’ वरिष्ठ नेता खनालले सफलखबरसँग टेलिफोनमा भने । तर ओली पक्षले भने प्रस्ताव ल्याउदा प्रचण्डले पदलोलुपता देखाएर ल्याएको आरोप सम्म लगाएका छन् । ओलीलाई प्रथम अध्यक्ष भन्दै ओली पक्षका नेताहरुले प्रचण्डलाई अध्यक्ष सम्म भन्न हिचकिचाउदै अनेक आरोप लगाउन खोजिरहेका छन् ।

‘यो त उहाँहरु (प्रधानमन्त्री पक्ष)को बर्बराहट हो, यसले कुनै अर्थ राख्दैन,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, –‘प्रचण्ड कमरेडले जे प्रस्ताव ल्याउनुभएको छ, त्यसले पार्टी र सरकारभित्रको समस्यालाई उजागर गरिदिएको छ, अब ति समस्याका बारेमा पार्टीमा छलफल हुन्छ र समाधानको पहिचान गरेर झन पार्टीलाई एकताबद्ध बनाउने काम हुन्छ ।’ माधव नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले प्रचण्डलाई पदलोलुपको आरोप अहिले लगाउनुमा कुनै तुक नै नभएको बताएका छन् ।  

उनले सामाजिक सन्जालमै लेखेका छन्,–‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ‘पदलोलुप’ भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ? अनि ख्याल गरौँ– प्रचण्डले साथ नदिएको भए न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ’पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र ?’
 

प्रतिक्रिया दिनुहोस