आईपीएल : दिल्ली पहिलो पटक फाईनलमा, मंगलबार मुम्बईसंग भिडन्त

एजेन्सी

सोमबार, २४ कार्तिक २०७७, ०७ : ३८
आईपीएल : दिल्ली पहिलो पटक फाईनलमा, मंगलबार मुम्बईसंग भिडन्त

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको  दिल्ली क्यापिटल्स पहिलो पटक फाईनलमा प्रवेश गरेको छ । सनराइजर्स हैदराबादलाई आइतबार क्वालिफायर्स २ मा १७ रनले पराजित गर्दै दिल्ली आईपीएलको १३ औं संस्करणमा आएर पहिलो पटक फाइनल पुगेको हो ।

युएईको अबुधाबीस्थित शेख जायेद रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले  ३ विकेट गुमाई १ सय ८९ रन बनायो । केन विलियम्सनले ४५ बलमा ६७ रन बनाए पनि हैदराबादले ८ विकेट गुमाई १ सय ७२ रन मात्र बनाउन सक्यो । दिल्लीले मंगलबार फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले शुक्रबार दिल्लीलाई नैक्वालिफायर्स १ मा ५७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । 

दिल्लीले पृथ्वी शलाई बेन्चमा राख्दै मार्कुस स्टोइनिसलाई ओपनिङमा पठाएको थियो । स्टोइनिसले शिखर धवनसँग पहिलो विकेटमा ८.२ ओभरमा ८६ रन जोडेपछि दिल्लीले मजबुत स्कोर बनाएको थियो । मध्यक्रममा पनि प्रभाव पार्दै आएका स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्कासहित ३८ रन बनाए ।

कप्तान श्रेयस ऐर २० बलमा २१ रन बनाई आउट भए पनि धवनले अर्को सानदार इनिङ्स खेले । उनले ५० बल खेली ६ चौका र २ छक्कासहित ७८ रन बनाए । सन्दीप शर्माको बलमा उनी १९ औं ओभरमा एलबीडब्लु आउट भए । सिमरन हेटमायर २२ बलमा ४ चौका र १ छक्का प्रहार गरी ४२ र ऋषभ पन्त २ रनमा अविजित रहे । रशिद खानले ४ ओभरमा २६ रनमात्र दिएर १ विकेट लिए । तर जेसन होल्डरले १ विकेट लिन ४ ओभरमा ५० रन खर्चे ।

हैदराबादले पहिलो ओभरमा रवीचन्द्रन अश्विनमाथी हावी हुँदै आक्रामक सुरुवात गर्न खोजेको थिए । तर दोस्रो ओभरको पहिलो बलमै कागिसो राबाडाले कप्तान डेविड वार्नरलाई २ रनमा बोल्ड गरे । अर्का ओपनर प्रियम गार्गले १२ बलमा २ छक्कासहित १७ रन बनाए । मनिष पाण्डेले १४ बलमा ३ चौकासहित २१ रन बनाए । यी दुबैलाई स्टोनिसले आउट गरी दिल्ली लाई खेलमा फर्काए ।

प्रतिक्रिया दिनुहोस