काठमाडौं । विभाजन हुने पटक—पटकका चर्चामाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विवाद झनै बल्झँदो छ । जिल्लामा भने नेताहरु गाउँ–गाउँ पुगेर कार्यकर्तालाई पार्टी नफुट्ने कुरामा आश्वस्त पार्न व्यस्त छन् । कार्यकर्तामा निराशा पैदा हुन नदिन जिल्लामा केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्लाका विभिन्न तहका नेता कार्यकर्तामाँझ ‘यस्ता विवाद बेला बखत आइरहने भए पनि विभाजनको तहमा नपुग्ने’ भनेर कार्यकर्तालाई सम्झाउँदै छन् ।
आज जिल्लाको याङवरक गाउँपालिका वडा नं. ३ वडा कमिटीले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा पुगेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले विवाद हुँदैमा पार्टी नफुट्ने भनेर कार्यकर्तालाई सम्झाउनुभयो । फिदिमबाट ओयाम पुग्नुअघि भण्डारीसहितको टोलीलाई हिलिहाङ र याङवरकका कार्यकर्ता वीच बाटोमै भेटेर पार्टी फुट्ला कि नफुट्ला भन्ने प्रश्न गरे ।
जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुभएका नेकपाका जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद सापकोटा ठूलो आशा र अपेक्षा गरेका कार्यकर्तामा ठूलो चासो र चिन्ता देखिनु सामान्य भएको बताउनुहुन्छ । केन्द्रमा देखिएका विवाद हल भई पार्टी पुनः क्रियाशील एवं सशक्त हुनेमा आफूहरु विस्वस्त रहेको बताउँदै सापकोटाले कार्यकर्तालाई सम्झाउने प्रयास गर्नुभयो ।
पछिल्ला केही दिनमा करिब आधा दर्जन वडाका कार्यकर्तालाई भेट्नुभएका नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ आम कार्यकर्ता पार्टी विभाजनको विपक्षमा रहेको वताउनुहुन्छ । कम्युनिष्ट पार्टी र द्वन्द्वात्मक भौतिकवाद मान्ने सङ्गठन भएकाले बहसमै विभाजन हुन्छ भन्ने भ्रम नराख्न आफूहरुले आग्रह गर्दै आएको नेम्वाङको भनाइ छ । आम कार्यकर्ताले अन्तर पार्टी निर्देशनमा विश्वास गर्नुपर्ने र विभिन्न उदेश्यका साथ आउने प्रायोजित विषयहरुमा विश्वास गर्न नहुने नेम्वाङको ठम्याइ छ ।
विशेषतः स्थानीय तहमा पराजित भएका स्थानका कार्यकर्ताले विभाजनका हल्लाबारे ठूलो चाँसो र चिन्ता व्यक्त गर्ने गरेका छन् । गाउँपालिकाको नेतृत्वमा तत्कालीन नेकपा (एमाले) विजयी भए पनि आफ्नो वडामा तत्कालीन दुवै दल मिल्दासमेत पराजित हुनुपरेको पीडा आज याङवरक—३ ओयामका नेकपा कायकर्तामा देखिन्थ्यो । “हिँजो हामी मिल्दा पनि वडामा पराजित हुँदा अहिले आम कार्यकर्ता चिन्तित छन् र अब जसरी जित्नुपर्छ भन्ने चाहन्छन्”, नेकपा वडा कमिटीका अध्यक्ष अनिश सेलिङले भन्नुभयो ।
सभाहलभरी खचाखच भरिएका कार्यकर्ताको उत्सुकता मेट्न उपस्थित कार्यकर्ता नेताले निकै गहन विषय बोलिरहँदा काठमाडौँका हरेक खबरमा अपडेट छन् । आम कार्यकर्ता सधैँ नेताहरुले पार्टी र देशको हित हुने सन्देश ल्याउन भन्ने चाहना राखेर बस्ने गरेको आफूले पाएको नेकपा याङवरक गाउँपालिका कमिटीका अध्यक्ष नरबहादुर गुरुङको भनाइ छ ।
उक्त कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष रहनुभएकी नेकपा जिल्ला सचिवालय सदस्य कमलकुमारी योङहाङले जनताका आवश्यकता पूरा गर्न कार्यकर्ता सधैँ खरो उत्रनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा याङवरक गाउँपालिका कमिटीका सचिव महेन्द्र योङ्याले विपक्षीले रोक्दैमा नेकपा नरोकिने र सबै स्थानमा विजय हाँसिल गर्नेगरी गतिविधि गर्ने बताउनुभयो । नेकपाका जिल्ला कमिटी सदस्यद्वय बाबा मेन्याङ्बो र रामकुमार योङहाङ, इलाम जिल्ला कमिटी सदस्य सन्धी शंकर, गाउँपालिका कार्यालय कमिटी सदस्य डिल्ली सुवेदी लगायत नेताको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी यहाँका पाँच जना नेकपामा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ कार्तिक २०७७, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने