पर्याप्त सामग्री नआउँदा व्यावसायी मारमा

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १४ : ४०
पर्याप्त सामग्री नआउँदा व्यावसायी मारमा

फाइल फोटो

काठमाडौँ । पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारबाट पुनः संचालनमा आएको छ । तर चीनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् । 

चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा वढी चिनीयाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ । 

एक चीनियाँ कन्टेनर सामानले नेपालतर्फको २ देखि ३ कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचासभन्दा बढी नेपाली कन्टेनर आउन सक्ने छन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो । 

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउदै थोरै सामग्री पठाउँदा आफुहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताए । उनले समान ढिलो आउँदा स्याउ लगायतका खाद्य सामग्री कुहिन थालेकोले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताए ।

नाकालाई पूर्णरुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्णरुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन् । भन्सार नाका पूर्णरुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारीहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उनले बताए । 

उनले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताए । आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफुहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए । 

नाका पूर्णरुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसर समेत वृद्धि हुने भएकोले छिटोभन्दा छिटो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस