कोरोना कहरमा दशैं : कुन नेताले कसरी मनाउँदैछन् दशैं ?

अघिल्लो वर्ष सर्वसाधारणलाई पनि टिकाटालो गराईदिएका नेताहरु यसपटक सबै कार्यक्रम स्थगित गरेर आफ्नै घरभित्रै सिमित भएर परिवारका वीचमा मात्र दशै मनाउने तयारीमा छन्

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १० : ४६
कोरोना कहरमा दशैं : कुन नेताले कसरी मनाउँदैछन् दशैं ?

काठमाडौं । यसपटकको दशैंको टिका भोलि छ । आज नवरात्री नेपालीहरुले दुर्गा भवानीको पूजाआजा गरेर मनाउँदैछन् । कोभिड १९ संक्रमणका कारण यसपटकको दशैं त्यक्ति मानिसहरुका लागि उत्साहका साथ मनाउने अवस्था छैन । जो जाहा छन्, त्यही अवस्थामा दशैं पर्व मनाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ ।

दशैंको मुखैमा केही राजनीतिज्ञहरु कोरोना संक्रमित भएका छन् । नेकपाका स्थायी समिति सदस्य जर्नादन शर्मालाई आइतबार विहानै मात्र कोरोना संक्रमण पुष्टि भएको छ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई  दम्पक्तिलाई पनि कोरोनाले छोएको छ । अन्य कतिपय नेता कार्यकर्ताहरु संक्रमित हुने र निको हुने चरणमा पनि छन् ।

यस्तो बेला  राजनीतिक नेताहरुले भने दशै कसरी मनाउँदैछन् त ?

राष्ट्रपती , प्रधानमन्त्री लगायतले यसपटक सर्वसाधारणलाई टिका ग्रहण गर्ने कार्यक्रम स्थगित गरेका छन् ।राष्ट्रपती  विद्यादेवी भण्डारीले आफ्नै परिवारमा शित्तल निवासभित्रै बसेर दशैं मनाउने र बाहिरी सर्वसधारणसाग टिकाटालो नगर्ने उनको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले पनि यसपटक आफ्नै परिवारका वीचमा मात्र दशै मनाउने भएका छन् । गत वर्ष दशैका बेला गृह जिल्ला झापाका कतिपय दशै कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओली यसपटक वालुवाटारवाट बाहिर निस्केका छैनन । उनले वालुवाटारमा हुने सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम पनि यो बर्ष नगर्ने देशवासीका नाममा गरेको सम्वोधनमा ब्यक्त गरिसकेका छन् । बुवा मोहनप्रसाद ओलीबाट प्रधानमन्त्रीले वालुवाटारमै टिका ग्रहण गर्नेछन् । अन्य टिकाटालो यसपटक ओलीको सरकारी निवासमा हुनेछैन ।

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दशैं परिवारसँगै घरमै मनाउने कार्यक्रम रहेको छ । कुनै विशेष कार्यक्रम उनको पनि नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दशैं काठमाडौं डल्लुस्थित निवासमै मनाउने कार्यक्रम रहेको छ । केही दिन अगाडी मात्रै अस्वस्थ भई उपचार गरेर घरमै आराम गरिरहेका खनालले दशै परिवारभन्दा बाहिर मनाउने कुनै योजना नरहेको उनको सचिवालयले जनाएको छ ।

नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  पनि यसपटक आफ्नै निवासभित्रै परिवारका वीचमा मात्र रहनेछन् । टीका घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै लगाउने योजना नेपालको छ ।

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले पनि कोरोना महामारीलाई मध्यनजर गर्दै यस पटक परिवारका साथमात्र दसैं मनाउने योजना बनाएका छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवाले विगतमा पार्टीका नेता–कार्यकर्तालाई निवासमा बोलाउने र आफू पनि मान्यजनकहाँ गएर दसैँको टीका लगाउने गरे पनि यस पटक त्यस्तो कुनै कार्यक्रम बनाएका छैनन । ‘उहा (देउवा)ले विशुद्द परिवारमा मात्र यसपटकको दशै मनाउने योजना बनाई, त्यही अनुसार दशै मनाईरहनु भएको छ, ’– देउवाका स्वकीय सचिव भानुले सफलखबरसँग भने ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई  र उनकी पत्नी पूर्वमन्त्री हिशिला यमी दुवै जना कोरोना संक्रमित छन् । घरमै आइसोलेसनमा बसिरहेका उनीहरुको दशै यसपटक वुढावुढीमा मात्र सिमित हुने भएको छ । यस अगाडीका वर्षमा बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेपछि उनले आफन्त, पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाउने गरेर दशै मनाउदै आएका थिए । यो पटक उनी पनि वुढावुढीमा मात्र दशै मनाउने अवस्थामा छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यसपटकको दशै घरभित्रै सिमित गरिरहेको बताएका छन् । उनी बाहिर कतै ननिस्किएर घरभित्रै बसेर दशै मनाईरहेका छन् । ‘परिवारभन्दा वाहिर यो पटक दशै मनाउने अवस्था नै रहेन, त्यसैले घरभित्रै दशै परिवारका वीचमा मनाईरहेको छु,’–  पौडेलले सफलखबरसँग भने ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिको घरमा भने यसपटक दशै छैन । उनले आफु पनि घरभित्रै रहने र अरुलाई पनि घरभित्रै परिवारका सदस्य जो जाहा छन, त्यही वसेर मात्र दशै मनाउन आग्रह गरेका छन् ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले भने दाजु प्रकाश कोइरालाको निवासमा गएर दसैँको टीका थाप्ने योजना वनाएका छन् ।नेताहरुले कोभिडको संक्रमण नेपालमा बढदै गएको, नेपालीहरु दैनिक सरदर १५ जनाको दरले कोरोनाका कारण मृत्यु भईरहेकोले मानविय संम्वेदनशीलताका कारण पनि उत्साहपूर्ण रुपमा दशै मनाउने अवस्था नरहेकोले घरभित्रै सिमित भएर दशैं मनाउन सर्वसाधारण नेपालीहरुलाई आग्रह पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस