काठमाडौं उपत्यकामा किसानले ल्याएका खसीबोका न्यून

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ०२
काठमाडौं उपत्यकामा किसानले ल्याएका खसीबोका न्यून

फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएका खसीबोका न्यून देखिएको छ । 

कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका विक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर विक्री गर्ने गरेका छन् । 

काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका विक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण प्रयाप्तसंख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । 

काठमाडौं आइपुग्ने खसीबोकाको विक्री वितरण अनौपचारीक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर विक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ । तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि देखिएन । 

धेरै वर्षदेखि काठमाडौंमा यसैगरी दशैंको समयमा खसीबोका विक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र प्रयाप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।

काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका विक्री गर्दा पशुचौपायाँको विक्री गर्दै आएका विभिन्न व्यवसायीक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् । तर काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् । किसानहरुले काठमाडौंमा षष्ठीको दिन खसीबोका ल्याउने र नवमिको दिनसम्म विक्री गर्ने गरेका छन् ।