कर्णाली विवाद : प्रचण्ड–माधव ओलीसँग जुधेरै जाने नीतिमा

कर्णाली प्रदेशमा देखिएको सत्तारुढ दलको विवाद झन बल्झिने देखिदैंछ । प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरु ७ गते अविश्वास प्रस्ताव फेस गरेर जाने तयारीमा छन भने अल्पमतमा परेपछि ओली पक्षका सांसद भने बैठक छोडेरे काठमाडौं ओइरिने तयारीमा छन

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, ०९ : ४२
कर्णाली विवाद : प्रचण्ड–माधव ओलीसँग जुधेरै जाने नीतिमा

काठमाडौं । सत्तारुढ दल नेकपाको कर्णाली प्रदेशमा देखिएको विवाद अन्ततः बहुमत–अल्पमतबाटै छिनोफानो लाग्ने देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध प्रधानमन्त्री केपी ओली पक्षका सांसद यमलाल कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएपछि विवाद बढेको थियो ।  सभामुख सहित ३३ सांसद त्यहाँ नेकपाको छन् ।

कुल १८ नेकपाका सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने काम कँडेलले गरेका थिए । तर अविश्वासमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदहरु ७ जनाले अविश्वास प्रस्ताव फिर्ता लिएको छुटाछुटै पत्र प्रदेश दलको कार्यलयमा निवेदन गरिसकेका कारण अविश्वास प्रस्ताव दर्ता गराएका कँडेल नै अहिले अल्पमतमा परेका छन् । कँडेलको योजना असफल भएर नराम्ररी धक्का लागेपछि विवाद समाधानका लागि भन्दै कर्णालीका पार्टी पदाधिकारी र मुख्यमन्त्री, लगायतका नेताहरुलाई पार्टी हेर्डक्वार्टरले काठमाडौं बोलाएका थिए ।

तर दुवै अध्यक्षले काठमाडौं बोलाएका नेताहरुलाई सँगै राखेर छलफल गर्ने वातावरण समेत बनेन । ओलीले छुट्टै, प्रचण्डले छुट्टै कर्णालीबाट आएका नेताहरुलाई भेटघाट गरे । दुई अध्यक्षका वीचमा विवाद समाधान कसरी गर्ने भन्ने प्रक्रियामा सहमति नजुटेपछि ओलीले ४ बुँदे सहमति बनेको आफना प्रेस सल्लाहकार मार्फत सार्वजनिक गर्न लगाए । लगत्तै प्रचण्डको सचिवालयले त्यस्तो सहमति नबनेको भन्दै अर्काे प्रेस नोट जारी गरेको थियो । 

ओलीले माधव नेपाललाई फकाउन प्रयास गरे । तर नेपालले उल्टै ओलीको कार्यशैली ठिक नभएको भन्दै बोली र व्यवहारमा ओलीको तालमेल हुन नसकेको जवाफ दिएपछि बालुवाटार प्रचण्ड र माधव नेपाल पक्षका बीचको सम्भावित सहकार्य तोड्न अनेक तिकड्मबाजीमा लागेको छ । तर प्रचण्ड र नेपाल पक्षले मिलेरै जाने नीति लिएपछि कर्णालीमा विवाद अब प्रदेश संसदीय दलको बैठकबाटै वारपार लाग्ने भएको छ ।

त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक ७ गते अर्थात भोलिका लागि दलको बैठक बोलाएका छन् । काठमाडौंमा केन्द्रीय नेताहरुले बोलाएर आएका शाही लगायतका नेताहरु आजै कर्णाली फर्कने योजनामा छन् । केन्दबाट दुई अध्यक्षका बीचमा सहमति सहितको कुनै निर्देशन नआएपछि प्रदेश दलको वैठकमै अविश्वास प्रस्ताव फेस गर्ने तयारीका साथ मुख्यमन्त्री शाहीले दलको वैठक बोलाएका हुन् । 

दलको बैठकमा प्रचण्ड र नेपाल पक्ष एकातिर हुदा बहुमत पुग्ने देखिएको छ । अविश्वास प्रस्ताव मा बहुमतका लागि नेकपाको प्रदेश दलमा १७ मत आवश्यक पर्छ । तर अविश्वास दर्ता गराउदा हस्ताक्षर गरेका माधव नेपाल निकटका ७ नेताले अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र दलको कार्यलयमा बुझाईसकेपछि कँडेलसँग बहुमत पुग्ने देखिदैन । त्यसमा पनि पूर्व माओवादी धारका ३ नेताले पनि अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने अवस्था अहिले छैन ।

अहिले कँडेलसँग अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९ जना सांसद मात्र साथमा छन् । प्रचण्ड र माधव नेपाल पक्षले मनित्रमण्डल पूर्नगठन गर्ने गरी मुख्यमन्त्री विरुद्दको अविश्वास प्रस्ताव असफल बनाउने योजना बनाएपछि ओली पक्षलाई कर्णालीमा धक्का लाग्ने देखिएको छ ।
 
ओली पक्षका सांसद काठमाडौं आउँदै
मुख्यमन्त्रीले दलको बैठक बोलाएपछि अल्पमतमा पर्ने र सिधै कर्नरमा पर्ने देखेपछि ओली पक्षका सांसदहरुमा छटपटी शुरु भएको छ । अहिले मुख्यमन्त्री शाहीको क्याबिनेटमा रहेका ओली पक्षका दुई मन्त्री अहिले अब पूर्नगठनमा नपर्ने भन्दै सुर्खेतमा डेराको खोजीमा लागेका समाचार आइरहेका छन् ।  

त्यसो त काठमाडौंमा नै रहेका ओली पक्षका नेता तथा मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्तावको अगुवाई गरेका यमलाल कँडेलले मुख्यमन्त्रीले दलको बैठक बोलाएपछि आफु पक्षिय नेताहरुलाई भने काठमाडौं बोलाउन थालेका छन् ।

अबको रणनीतिका विषयमा प्रधानमन्त्रीसँग बसेर छलफल गर्नुपर्ने भन्दै कँडेलले आफु निकटका सांसदहरुलाई काठमाडौं डाकेको एक सांसदले बताए । भोलि दलको वैठक वस्ने वातावरण वनेमा र प्रचण्ड र माधव नेपाल समुहले वैठक राखेरै जान निर्देशन गरेमा ओली पक्षका नेताहरु भने भोलि नै काठमाडौं आउने तयारीमा जुटेका छन् ।
 

प्रतिक्रिया दिनुहोस