प्रधानमन्त्री ओलीले बोलाउदा किन भेट्न गएनन् प्रचण्ड ?

मैले बोलाउँदा प्रचण्ड जी आउनुभएन, नआउनु गलत कुरा हो : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १० : ०९
प्रधानमन्त्री ओलीले बोलाउदा किन भेट्न गएनन् प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथी असन्तुष्टि पोखेका छन् । कर्णालीका प्रतिनिधीहरुसँगको छलफलका लागि आफुले प्रचण्डलाई पनि टेलिफोन गरी बालुवाटार बोलाएको तर नआएको भन्दै ओलीले प्रचण्डसँग असन्तुष्टि पोखेका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, नेता यमलाल कँडेल, प्रदेश सचिव मायाप्रसाद शर्मा लगायतका कर्णालीका जनप्रतिनिधीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो असन्तुष्टि पोखेका हुन् । छुट्टाछुट्टै भेट गर्नुभन्दा सामुहिक छलफल गरौं भनेर प्रचण्ड जीलाई बालुवाटार बोलाएको थिए, तर उहाँले मैले भेटिसके, तपाई भेटेर छलफल गर्नुस्, आवश्यक परे फेरि तँपाई र म बसौंला मात्र भन्नुभयो, बालुवाटार बोलाउदा पनि आउनुभएन, प्रचण्ड बालुवाटार नआएकोमा असन्तुष्टि जनाउँदै ओलीले कर्णालीका नेताहरुसँग भने ।

प्रचण्ड र ओलीले कर्णालीका जनप्रतिनिधीलाई विवाद यथास्थानमा राखी बिहिबारसम्म केन्द्रीय कार्यालयमा हाजिर हुन निर्देशन गरेपछि मुख्यमन्त्री सहितको टोली यतिबेला काठमाडौंमा नै छ । तर बिहिबिार र शुक्रबार ओलीले कर्णालीका जनप्रतिनिधीलाई समय दिएनन् । तर प्रचण्डले भने आफ्नो निवासमा बोलाएर दुवै पक्षका नेताहरुसँग बिहिबार र शुक्रबार दुई दिन सम्म छलफल गरेका थिए ।

बुधबार ओलीले पार्टीसँग सल्लाह नै नगरी एकतर्फी मन्त्रिपरिषद् बिस्तार गरेपछि नेकपाका दुई अध्यक्षका बीचमा विवाद बढ्न थालेको छ । प्रचण्ड दिनहुँ बालुवाटार धाउने र ओलीसँग छलफल पनि गर्ने तर छलफलको स्पिरिट विपरित ओलीले आफुलाई मन लागेको कुरा मात्रै गर्ने प्रवृत्ति बढेपछि प्रचण्ड ओली सम्बन्धमा खटपट देखिन थालेको छ । त्यही क्रममा ओलीले प्रचण्डलाई शनिबार बालुवाटार बोलाएपनि नगएको उच्च स्रोतले बताएको छ ।

ओलीले कर्णालीका जनप्रतिनिधीसँग प्रचण्डलाई बोलाउदा नआएको भनेर असन्तुष्टि मात्र पोखेनन्, उनले मुख्यमन्त्री शाहीको पनि आलोचना गरे । अविश्वास प्रस्ताव आएपछि जे गर्नुनहुने थियो, त्यही तपाई (मुख्यमन्त्री)ले गर्नुभयो, त्यो ठीक भएन, त्यो कमजोरीलाई सच्चाउनुहोस, प्रधानमन्त्रीले मुख्यमन्त्री शाहीलाई निर्देशन दिदै भने ।

मुख्यमन्त्री शाहीका विरुद्ध ओली पक्षका सांसद यमलाल कँडेलले माधव नेपाल पक्षका सांसद र केही पूर्व माओवादीका सांसदलाई समेत विभिन्न प्रलोभन देखाई अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर पछि माधव नेपाल पक्षका नेताहरुले मुख्यमन्त्री शाही लगायतसँगको छलफलमा अविश्वास प्रस्तावबाट ब्याक हुने समझदारी गरेका थिए । त्यसपछि प्रमुख सचेतक रहेका र आफु विरुद्ध अविश्वास प्रस्तावको भूमिका खेलेका गुलाबजंग शाहीलाई हटाई सीता नेपालीलाई प्रमुख सचेतक बनाउने निर्णय लिए । त्यस्तै, हस्ताक्षरकर्ता मध्येकै एक नेतालाई उनले सचेतक बनाई दिए ।

ओलीले शनिबारको बालुवाटार छलफलमा त्यसैमा असन्तुष्टि जनाएका हुन् । क्रिया आएपछि प्रतिक्रिया जनाएको हुँ, मुख्यमन्त्री शाहीको भने ओलीलाई जवाफ थियो । ओलीले अझै केही दिन काठमाडौंमा बस्न भन्दै आफुहरुले दुई अध्यक्षको बीचमा छलफल गरेर कर्णालीको विषयमा निर्णय दिने भन्दै तीन घण्टा छलफल गरेर नेताहरुलाई बालुवाटारवाट बिदा गरेर पठाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस