मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीको ठट्टा : ‘नयाँ मन्त्रीको खातामा मिठाई बाँकी लेख्नु !’

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, ०९ : ५४
प्रधानमन्त्री ओलीको ठट्टा : ‘नयाँ मन्त्रीको खातामा मिठाई बाँकी लेख्नु !’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकलौटी मन्त्रिपरिषद् पूर्नगठन गरेपछि हिजो बिहिबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्यो । नयाँ मन्त्रीहरुको स्वागत, केही सचिवहरुको सरुवा लगायतका विषयमा छलफल गर्न बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बसेको थियो ।

हिजो नै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका थिए । बिहान सपथ लिएका मन्त्रीहरु साँझ पहिलो पटक क्याबिनेट बैठकमा प्रवेश गरेका थिए । नयाँ मन्त्रीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले आफुले नयाँ मन्त्रीबाट धेरै अपेक्षा गरेको बताए ।

‘नयाँ मन्त्रीलाई स्वागत गर्छु । मैले नयाँ मन्त्रीबाट धेरै अपेक्षा पनि गरेको छु । तपाईहरुले मेरो अपेक्षा अनुसार काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले सफलखबरसँग भने,–‘अब अरु मन्त्रीलाई पनि के होला, कसो होला भन्ने होइन, अब धमाधम आफ्नो काम गतिमा गर्नुस् भन्न चाहन्छु ।’ अघि पछि झैं सधै ठट्यौली पारामा प्रस्तुत हुने प्रधानमन्त्री ओलीले हिजोको क्याबिनेट बैठकमा पनि नयाँ मन्त्रीका नाममा केही ठट्टा पनि गर्न भ्याए ।

‘नयाँ मन्त्री नियुक्ति भएर आएपछिको पहिलो क्याबिनेट बैठकमा उहाँहरुले मिठाई खुवाउने प्रचलन थियो, आज त्यो देखिएन,’ प्रधानमन्त्रीले त्यसो भन्दा भर्खरै मात्र नियुक्त भएर आएका अर्थमन्त्री विष्णु पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ अक्क न बक्क भएका थिए । प्रधानमन्त्रीले मिठाईका कुरा बैठकमा उप्काउछन भन्ने कुनै मन्त्रीलाई पनि लागेको थिएन् ।

नवनियुक्त तिनै मन्त्रीहरुले अप्ठयारो महसुस गरेपछि फेरि प्रधानमन्त्रीले थपिहाले,–‘अहिले कोरोना पनि छ । मिठाई खाएर रामरमाइलो गर्ने बेला होइन, तपाईहरु विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठको खातामा मिठाई बाँकी लेख्नुहोला एउटा निर्णय ।’ त्यसपछि क्याबिनेट बैठकमा केही बेर हाँसो नै चलेको ति मन्त्रीले बताए । त्यसपछि क्याबिनेट बैठकले १० जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस