‘कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्छ’

एजेन्सी

सोमबार, २६ असोज २०७७, १० : १४
‘कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्छ’

काठमाडौँ ।  अस्ट्रेलियाका वैज्ञानिकहरूले कोभिड १९ को भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । उनीहरुले गरेको अनुसन्धानबाट कोरोना भाइरस नोट (पैसा्), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने पत्ता लगाएका छन् ।  अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दाबी गरेका छन् ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ । अनुसन्धानमा ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइएको जनाइएको छ । तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भाइरस लामो समय रहेको उल्लेख छ । यस्तै कपडाजस्ता ससाना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

तुलनात्मक रूपमा फ्लू भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। तर, यो प्रयोग अँध्यारो अवस्थामा गरेकाले परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइएको पनि बताइएको छ। यद्यपि कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शङ्का कायमै रहेको पनि उल्लेख गरेका छन् । कोरोना भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्ने बताइँदै आए पनि हावाको माध्यमबाट पनि सर्ने विवरणहरू पनि सार्वजनिक भइरहेका छन् ।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा यसको भाइरस नोट (पैसा) वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएकां) खानामा पनि रहन सक्ने देखाएको छ।  विश्व स्वास्थ्य सङ्गठनले भने कोभिड १९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको अहिलेसम्म पुष्टि नभएको दाबी गर्दै आएको छ ।

भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएपछि अन्योलता झनै बढेको छ । ‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा संक्रममणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुने र मानिसहरूलाई जोगाउन सकिन्छ,’ सीसीरोका प्रमुख कार्यकारी डा.ल्यारी मार्शलले भनेका छन् ।

कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्वप्रमुख प्राध्यापक रन एकल्सले भने पछिल्लो अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलाइएको बताएका छन् ।

‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन, यसर्थ यो अपूरो छ,’ प्राध्यापक एकल्ले भने। अघिल्लो साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस