अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन, शिक्षामन्त्रीको चर्को आलोचना

सफल खबर संवाददाता

शनिबार, २४ असोज २०७७, १३ : ४०
अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन, शिक्षामन्त्रीको चर्को आलोचना

काठमाडौँ । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो ।

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ । 

प्रदर्शनमा सहभागि वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा रोकिएको बताए । प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भएपनि आफुहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई भएको उनले बताए । 

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन । सरकार र डा केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो ।

बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाइ रहेको छ । केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस