प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत : गगन थापा

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, ११ : ५२
प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत : गगन थापा

फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका रहेको बताउँदै उक्त तरिका संसदभित्र पूर्णत अवाञ्छनीय रहेको बताएका हुन् ।

थापाले गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठकाविरुद्ध आवाज उठाउने तरिका संसदीय अभ्यासभित्रै छ,’ थापाले लेखेका छन्, ‘प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो ।’

आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्नुपर्ने थापाको भनाइ छ । ‘प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनुपर्छ । नत्र मन्त्रीको ‘घिसारेर निकालिहाल’ को प्रतिकार यति कमजोर हुँदैन थियो,’ थापाले भनेका छन् । 

प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउन र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव सोमबार बसेको प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरिने भएपछि प्रतिपक्षी सांसदहरुले विरोध गर्दै कुर्सी तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस