नेकपा सचिवालय बैठक आज

रिक्त तीन मन्त्री मात्रै थपेर मन्त्रिपरिषद् पुनर्गठनको सन्देश दिने प्रधानमन्त्री ओलीको तयारी

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, ०८ : ४५
रिक्त तीन मन्त्री मात्रै थपेर मन्त्रिपरिषद् पुनर्गठनको सन्देश दिने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, सम्वैधानिक राजनीतिक नियुक्ति देखि पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा केन्द्रीत रहेर छलफल हुने नेताहरुले बताएका छन् । सचिवालय बैठक शनिबार बस्ने तय भएको थियो ।

तर आइतबार बस्ने गरी अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । शनिबार नै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको नीजि सचिवालयका मुख्य सल्लाहकार, प्रेस सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रमुख स्वकिय सचिव देखि दर्जनौं सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

त्यस बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नै नगरी एकतर्फी अमेरिका, बेलायत, दक्षिण अफ्रिका लगायतका मुलुकमा राजदुत नियुक्ति गर्ने देखि मुख्य सचिव नियुक्ति सम्मका निर्णयहरु मन्त्रिपरिषद्बाट गराएका थिए । तर यो विषयमा ओलीले पार्टी नेताहरु पार्टीसँग कुनै परामर्श गरेका थिएनन् । त्यसपछि सचिवालय सदस्यहरुको मागकै आधारमा बैठक तय भएको थियो ।

बैठकमा ओलीको चर्काे आलोचना फेरि हुने देखेपछि ओलीले अन्तिम समयमा शनिबारको बैठक नै स्थगित गराईदिएका थिए । आफुमाथीको आक्रोश नेताहरुको बढ्ने देखेर नै उनले जानाजान शनिबारको बैठक रोकिदिएका थिए । तर आइतबार र सोमबार पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग उनले बालुवाटारमा गरेको छलफल पछि आजको लागि सचिवालय बैठक बोलाईएको हो ।

 यो बीचमा दुई अध्यक्षले प्रदेश ५ को राजधानी दाङको भालुवाङ (देउखुरी क्षेत्र) बनाउने गरी मुख्य मन्त्री शंकर पोखरेललाई सहमति दिने काम गरेका छन् । यो निर्णयमा सचिवालयका ९ मध्ये ८ सदस्यको सहमति देखिएपनि महासचिव विष्णु पौडेल भने असहमत देखिन्छन् ।

उनले आइतबार दुवै अध्यक्ष, प्रदेश ५ का मुख्यमन्त्री र कर्णाली प्रदेशका पार्टी इन्चार्ज जर्नादन शर्मा रहेको बैठकमा भालुवाङ राजधानी लैजाने निर्णयप्रति असहमति जनाउँदै पूर्नविचारको माग गरेका थिए । उनी निर्वाचित क्षेत्र रुपन्देहीमा अहिले अस्थायी राजधानी थियो । आजको सचिवालय बैठकमा सोही असन्तुष्टिका कारण पौडेलको उपस्थिती रहने या उनले बैठक नै बहिष्कार गर्ने भन्ने सम्मको पनि चर्चा चलेको छ । उनी बैठकमा जाने या नजाने अथवा उनले बैठकमा यस विषयमा नोट अफ डिसेन्ट लेख्ने या नलेख्ने भन्ने विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुने बताईएको छ ।

त्यस्तै मन्त्रिमण्डल पुनर्गठनका सन्र्दभमा ओलीले रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिको विषय अहिले उठाउने तयारी गरेको स्रोत बताउँछ । त्यसो हुदाँ अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चारमा जनार्दन शर्मा र सहरी विकासमा सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने गरी ओलीले प्रस्ताव अगाडी सार्ने सम्भावना देखिएको छ । तर यो मोडेलमा अन्य सचिवालयका सदस्यहरु सहमत हुने नहुने अहिले नै बताउन सकिने अवस्था देखिएको छैन् ।

माधव नेपाल प्रधानमन्त्री बाहेक पूरै सेट परिवर्तनको पक्षमा देखिएका छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई बिदाई गरेर ब्यापक मात्रामा पुनर्गठनको पक्षमा छन् । तर ओली रिक्त तिन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने र तीन मन्त्रालय टुक्राएर थप तीन मन्त्री नियुक्ति गर्ने तिर मात्र देखिईरहेका थिए । यस विषयमा नेकपाले आजको सचिवालय बैठकवाट केही न केही निर्णय लिन सक्ने बालुवाटार श्रोतले बताएको छ ।

सम्वैधानिक राजनीतिक नियुक्तिका सवालमा पनि निश्चित मापदण्ड भित्र प्रधानमन्त्री ओलीलाई स्वेच्छाचारि निर्णय लिन बाट कस्ने रणनीति सचिवालय सदस्यहरुले बनाउन सक्नेछन् । गत मन्त्रिपरिषद्को निर्णयमा चर्काे आलोचना गर्दै त्यस्तो रणनीति तय गर्न सक्ने सम्भावना पनि देखिएको छ । त्यसका अतिरिक्त १० दिनभित्र पार्टी एकताको काम टुंग्याउने गरी दुई अध्यक्ष र महासचिवलाई ठोस प्रस्ताव सचिवालय बैठकमा ल्याउन गरेको आग्रह अनुसार दुई अध्यक्ष र महासचिवले के कस्ता गृहकार्य गरे भन्नेमा पनि बैठकमा छलफल हुने देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस