स्पष्ट एजेन्डाबिनाको संविधान संशोधनले राजनीतिक अस्थिरता बढाउन सक्छ : गगन थापा

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १७ : २८
स्पष्ट एजेन्डाबिनाको संविधान संशोधनले राजनीतिक अस्थिरता बढाउन सक्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया स्पष्ट उद्देश्य, प्राथमिकता र समस्या पहिचानबिना अघि बढाइए त्यसले राजनीतिक अस्थिरता तथा दलीय ध्रुवीकरण निम्त्याउन सक्ने बताएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी कार्यदलको कार्यप्रक्रिया, कार्यविधि र नेतृत्वप्रति प्रश्न उठाए।

थापाले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वबाट गुज्रिएको राजनीतिक यात्रा तथा त्यसक्रममा नागरिकले बेहोरेको बलिदानलाई बेवास्ता गरेर संशोधनको बहस अघि बढाउन नहुने धारणा राखे।

उनले सरकारले संविधान संशोधनमार्फत समाधान गर्न खोजिएको विशिष्ट समस्या वा उद्देश्य स्पष्ट गर्न नसकेको उल्लेख गर्दै समग्र संविधानलाई एकै पटक संशोधनको बहसमा लैजाँदा अनपेक्षित संवैधानिक तथा कानुनी जटिलता उत्पन्न हुन सक्ने बताए।

संविधान निर्माणको प्रक्रिया मुलुकले लामो राजनीतिक संक्रमण र द्वन्द्व पार गरेर तय गरेको स्मरण गराउँदै थापाले त्यससँग जोडिएका ऐतिहासिक तथा सामाजिक संवेदनशीलतालाई हल्का रूपमा लिन नहुने बताए। स्पष्ट प्राथमिकताबिना संशोधनको प्रक्रिया अघि बढाउँदा समाज र राज्य व्यवस्थाको आधारभूत सहमतिमा असर पुग्न सक्ने तथा शासन प्रणालीसमेत अस्थिर बन्न सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस