कोरोना असर

सुनसान छन् हाटबजार, समस्यामा परे सात हजार

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, ११ : १३
सुनसान छन् हाटबजार, समस्यामा परे सात हजार

चितवन । कोरोनाको कहरले चितवनमा रहेका सात पालिकामा रहेका करिब ५० वटा साप्ताहिक हाटबजार स्थल यतिबेला सुनसान छन् । कोरोनाका कारण ६ महिनायता हाटबजार स्थलहरु गौचरनजस्तै बनेका छन् । भरतपुरका अधिकांश हाटबजारका संरचनाहरुमा खिया लाग्न थालेको छ ।

कोरोनाका कारण बन्द रहेको हाटबजार स्थलमा यतिबेला न कुनै व्यवसायी पुग्छन्, न त्यहाँ कुनै ग्राहक नै हुन्छन् । भरतपुर महानगरपालिकामा मात्रै २५ वटा हाटबजार कतै झाडीले भरिएका छन् त कतै संरचनाहरु भत्कने अवस्थामा पुगेका छन् । देशमा लकडाउन भएसँगै ६ महिनादेखि हाटबजारहरु बन्द हुँदा यसमा आश्रित बनेका चितवनका झन्डै सात हजार साना व्यवसायीहरुको रोजगारी गुमेको छ । 

सानो लगानी गरेर न्यून आम्दानीबाट गुजारा चलाउँदै आएका हाटबजारका व्यवसायीहरु यतिबेला हातमुख जोड्न विभिन्न विकल्प अपनाउन बाध्य भएका छन् । धेरै व्यवसायीहरु गाउँ फर्केर खेतीकिसानीमा लागेका छन्, केहीले अन्य विकल्प खोजेका छन् ।

चितवन प्रशासनले हाटबजार स्थलहरुलाई सञ्चालनमा ल्याएको छैन । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले हाटबजार स्थल सञ्चालनमा रोक लगाइएको बताए । उनले भने, ‘हाटबजार, फिल्मी हल, धार्मिक तथा सांस्कृतिक कार्यक्रमलगायत भीडभाड बढी हुने ठाउँहरुलाई सञ्चालन गर्ने अनुमति छैन ।’ 

भरतपुर–१२ मा बस्दै आएका मात्रिकाप्रसाद गुरागाईं हाटबजार बन्द भएसँगै कोठाभाडादेखि दैनिक खानपानको खर्च पु¥याउन मुस्किल भएको बताउँछन् । ‘प्रत्येक दिन फरक–फरक हाटबजारमा पुग्थेँ । दिनकै पाँच हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो’ उनले भने, ‘त्यही व्यापारको कमाइबाट कोठाभाडादेखि छोराछोरीको पढाइसम्म पु¥याएको थिएँ, अहिले रोजीरोटीमै समस्या भएका छ ।’

उनले भरतपुर महानगरका विभिन्न हाटबजारमा कपडा बेच्ने काम गर्दै आएका थिए । हाटबजार बन्द भएसँगै उनलाई खानलाउनै मुस्किल भएको छ । उनी भन्छन्, ‘भौतिक दुरी कायम राखेर हाटबजार सञ्चालन गर्न सकिन्छ कि, त्यतातिर पनि प्रशासनले ध्यान देओस् ।’  

गुरागाईंको जस्तो अवस्था यतिबेला चितवनमा हाटबजारका सात हजार व्यवसायीहरुमा परेको छ । ‘हाटबजारका व्यवसायीहरु कोही कुटोकोदालो गर्न गाउँ फर्केका छन्, कोही ठेला लिएर हिँडेका छन् त कोही विस्थापित भइसकेका छन्’ भरतपुरका विभिन्न हाटबजारमा व्यवसाय गर्दै आएका अशोक सिंखडाले भने, ‘हाटबजारको व्यापारबाट सहरमा बालबच्चा पालेर, पढाएर आफू धानिने अवस्था थियो, अहिले त्यो गुमेको छ ।’

हाटबजार खुल्ला भन्ने आशैआशमा व्यवसायीहरु कुरिबसेका छन्, तर अवस्था झन् दयनीय बन्दै गएपछि व्यवसायीहरु पलायन हुनेक्रम बढेको छ । उनले भने, ‘साना व्यवसायीहरु त पेट पाल्न सक्ने अवस्थामै छैनन्, हिजोको कमाइबाट जोडेको केही रकम पनि खाएर सकियो, अत्यन्तै कठिन मोडमा हाटबजारका व्यवसायी पुगेका छन् ।’

लकडाउन सुरु भएदेखि बन्द भएका हाटबजार यतिबेला गौचरनजस्तो बनेका छन् । एउटा हाटबजारमा १०० देखि ३०० सम्म व्यवसायीले व्यापार गर्थे । व्यवसायीहरु पालैपालो सातैदिन हाटबजार लागेको ठाउँमा पुग्थे । हाटबजार नखुल्दा उनीहरु समस्यामा छन् ।

भरतपुर महानगर कृषि तथा पशुपक्षी शाखाका शाखा अधिकृत विनोद लामिछाने महानगरभित्र सञ्चालित २५ वटा हाटबजार सबै बन्द रहेको बताउँछन् । उनका अनुसार महानगरभित्रका २५ वटा हाटबजारमध्ये महानगरमा जम्मा चारवटा हाटबजारमात्रै दर्ता भएका छन् । उनले भने, ‘दर्ताको प्रक्रिया चलिरहेको थियो, अचानक लकडाउन भयो, हाटबजार बन्द भए । दर्ताको प्रक्रियासमेत रोकिन गयो । उनले यतिबेला हाटबजार बन्द भएसँगै त्यहाँ कार्यरत व्यवसायीदेखि कर्मचारीहरुसँग रोजगारी नभएको बताए ।

भरतपुर महानगरपालिकामा ठाउँठाउँमा हाटबजार सञ्चालन हुने क्रम बढेको थियो । कृषि हाटबजारहरु पनि चलाइएको थियो । उपभोक्ताहरुलाई घरेलु सामग्रीदेखि कपडासम्म किन्न सहज हुँदै आएको थियो । 

भरतपुर–२६, ज्योतिनगर हाटबजार सञ्चालन समितिका अध्यक्ष राजु श्रेष्ठले हाटबजार बन्द भएसँगै यहाँ आउने निम्न आयस्रोत भएका झन्डै १०० व्यवसायीहरुको रोजगारी गुमेको बताए । उनले भने, ‘व्यवसायीहरुले केही दिनअघिसम्म त सञ्चालनमा ल्याउन दबाब दिएका थिए, तर अहिले कोरोना संक्रमित बढेसँगै कतैबाट गुनासो आएको छैन, यस्तो अवस्थामा हाटबजार खोल्न सक्ने अवस्था पनि छैन ।’

उनका अनुसार ती व्यवसायीहरु कोही खेतीपातीमा फर्केका र कोही ठेला लिएर हिँडेर आफ्नो गुजारा चलाउँदै आएका छन् । गुञ्जनगर कृषि हाटबजारका कोषाध्यक्ष पूर्णबहादुर गुरूङले पनि हाटबजारमा बसेका झन्डै एक सय व्यवसायी अन्य क्षेत्रमा लागेको बताए । उनले भने, ‘हाटबजार बन्द भएसँगै उनीहरु पनि विस्थापित भएजस्तो छ, कोही कता त कोही कता गए, कुनै अत्तोपत्तो छैन ।’

प्रतिक्रिया दिनुहोस