किन तैँ चुप मै चुप छन् प्रधानमन्त्री ओली र गृहमन्त्री थापा ?

पूर्वअर्थमन्त्री डा. रामशरण महतको नाममा गैरकानुनी कारोबार गर्नेलाई जोगाउन सत्तारुढ र प्रतिपक्षी एकै ठाँउमा

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १३ : २१
किन तैँ चुप मै चुप छन् प्रधानमन्त्री ओली र गृहमन्त्री थापा ?

फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको नाममा एकाध व्यक्तिले चलाएको गैरकानूनी कारोबारको फेहरिस्त प्राप्त भएको छ । उनीहरु लागुऔषधको कारोबार तथा यातायात व्यवसायमा समेत संलग्न भएको पाइएको छ । तर, राज्यका निकायले केवल देखाउनका लागि मात्रै छानबिन गरेको जस्तो नाटक गरेर उनीहरुलाई सुनपानी छर्केर चोख्याउन लागिएको छ । योभन्दा लाजमर्दो र विडम्बनापूर्ण अवस्था अरु के होला ? 

माओवादी जनयुद्धका कमाण्डर रामबहादुर थापाले चलाउने गृह प्रशासनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले चलाउने सम्पत्ति शुद्धीकरण विभागसम्म र अन्य सरकारी निकाय पनि तैँ चुप मै चुपको अवस्थामा रहेका छन् । सानालाई कानून लाग्ने मुलुकमा पैसावाल र तस्करलाई भने उन्मुक्ति हुने गरेको छ । जानकार स्रोतका अनुसार लागुऔषध कारोबारी र बस व्यवसायीसँग करोडौँ अवैध सम्पत्ति भएको तथ्य र प्रमाण पुगेपनि डा महतको आशीर्वादमा उनीहरुलाई हालसम्म उन्मुक्ति दिएको पाइएको छ ।

सरकारी निकायले नै गरेको अध्ययनका आधारमा उनीहरुले लागुऔषध कारोबार तथा यातायात व्यवसाय समेत गरिरहेका छन् । उनीहरुसँग ठूलो गिरोह नै रहेको बताइएपनि हालसम्म मुद्दा कमजोर बनाउन दुई जनालाई मात्रै अनुसन्धान गर्ने भन्दै केश सामसुम पार्न खोजिएको छ । सरकारी तथ्य अनुसार उनीहरुसँग करोडौँ बराबरको अवैध सम्पत्ति भेटिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएको जनाएको पनि लामै समय भयो । तर हालसम्म के कस्तो प्रगति भयो भन्ने बारेमा आम रुपमा केही बताइएको छैन । त्यसो हुनुका पछाडि सरकारको रवैया र कालोधनको चलखेल गर्नेलाई राजनीतिक संरक्षण प्राप्त भएको तथ्य उजागर भएको छ । ती कालोधनको कारोबार गर्नेलाई जोगाउन पूर्वअर्थमन्त्री डा महतदेखि शहरी विकास राज्यमन्त्री समेत रहेका काठमाडौंका रैथाने रामवीर मानन्धर समेत लागिपरेको बताइन्छ । मानन्धरले त ती कारोबारीलाई नेकपाका केही शीर्षस्थ नेतालाई समेत भेटाएको स्रोतले जनाएको छ । यस विषयमा उनीहरुलाई सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

जानकारहरुका अनुसार लागुऔषध कारोबार अभियोगमा जेल परेर छुटेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको मात्रै झण्डै रु. एक अर्ब सम्पत्ति भेटिएको छ । यत्रो सम्पत्तिको स्रोत के हो ? कहाँबाट आयो त्यत्रो रकम भन्ने बारेमा हालसम्म केही बताइएको  छैन । सरकारी निकायले छानबिन गरेपनि कुनै पनि तथ्य हालसम्म फेला परेको छैन । 

प्रहरी स्रोतका अनुसार कूल रु. एक अर्ब सम्पत्तिमध्ये झण्डै रु. १२ करोड रकम उनले आपराधिक कार्यबाट कमाएको निष्कर्ष निकालिएको छ । विशेष सरकारी वकिल कार्यालयले केही दिन पहिले मगरविरुद्ध मुद्दा दायर गरेको भएपनि कमजोर तथ्य र प्रमाण मात्रै राखेर मुद्दा कमजोर बनाइएको छ । उनलाई निकट भविष्यमा नै सफाई दिएर छुटकारा दिने गरी सेटिङ मिलाइएको छ । सो कामका लागि विशेषगरी डा. महत र राज्यमन्त्री मानन्धरले भूमिका निर्वाह गरेको मगरका निकटस्थहरुले खुलेआम बताउँदै हिँडेका छन् ।

सम्पत्ति शुद्धीकरण विभागले गरेको छानबिनमा मगरको नाममा नै चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको छ । उक्त सम्पत्तिको एक चौथाई भन्दा कमको मात्रै स्रोत नखुलेको भन्दै तीनचौथाई कम सजायको माग गरिएको छ । कारण मुद्दा कमजोर बनाउने र जोगाउने आसय लुकेको पाइएको छ । राजनीतिक प्रभाव र पहुँचका आधारमा विभागले प्रस्ताव गरेको भन्दा थोरै मात्र बिगो कायम गरी मुद्दा चलाउने निर्णय विशेष सरकारी वकिल कार्यालयले गरेको तथयहरु एवम् सम्वद्ध स्रोतले जनाएको छ ।

विभागले गत फागुनमै अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिलमा पठाएकामा सात महिनापछि मुद्दा चलाउने निर्णय भएको हो । विशेष सरकारी वकिल कार्यालयको निर्णयपछि मात्र विभागले मुद्दा दायर गर्न पाउने व्यवस्था रहेको छ । सो समयमा अनुसनधान नसकिएको बताइएको थियो ।

मुद्दा कमजोर बनाउन ‘सेटिङ’ 

कोरोना संक्रमणको जोखिम बढेपछि गत चैतदेखि देशव्यापी रुपमा लकडाउन गरियो । सोही लकडाउनका कारण थप समस्या पैदा भएको भन्दै मुद्दा चलाउने वा नचलाउने भन्ने बारेमा केही निर्णय गरिएन । लकडाउन तथा निषेधाज्ञा खुलेपछि मात्रै मुद्दाको विषयमा केही चासो लगाइएको भएपनि कमजोर बनाउने प्रयासका साथ सबै सेटिङ गरिएको बताइन्छ ।

प्रहरीका अनुसार देवेन्द्र लागुऔषध कारोबारमा पटक–पटक पक्राउ परेका र जेल सजाय समेत भोगेका व्यक्ति हुन् । जानकार स्रोतका अनुसार पछिल्लोपटक २३ वैशाख २०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले पक्राउ गरेको थियो । त्यस बेला उनीसहितका तीन जनाबाट १३६ किलो चरेस र केही रकम समेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

ब्युरोको अनुसन्धानमा उनले सीतापाइलास्थित आफ्नै घरमा कपासको आवरणमा चरेसको गोदाम राखेको समेत पत्ता लागेको थियो । देवेन्द्रले अन्तर्राष्ट्रिय तस्कर गिरोहसँग मिलेर वर्षौंदेखि सिरक, डसनाभित्र लुकाएर चरेस तस्करी गर्दै आएको प्रहरीको विशेष खोज तथा अनुसन्धान टोलीले पत्ता लगाएको थियो ।

देवेन्द्रका बारेमा जानकारी राख्ने एक उच्च प्रहरी अधिकारीका अनुसार उनले भारत हुँदै क्यानाडालगायत मुलुकमा समेत चरेसको तस्करी गर्ने गरेका थिए । सोही वापत उनले राम्रै पैसा समेत कमाएको बताइन्छ । उनको हङकङ र जापानका बैंकमा समेत खाता भेटिएको विभाग स्रोतले बताएको छ । चरेस तस्करीबापत आर्जन हुने रकम उनले तिनै खातामा जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।  विभागले ती खाता रोक्का गरेर अनुसन्धान अगाडि बढाएको बताएपनि राजनीतिक प्रभावमा मुद्दा कमजोर बनाइएको छ ।

पटकपटक पक्राउ, पटकपटक रिहा

प्रहरीका अनुसार देवेन्द्र २०३१ सालदेखि चरेस तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भएको र उनले प्रहरी प्रशासनदेखि राजनीतिक नेतृत्वलाई समेत मोटो रकम दिएर सधैँ उन्मुक्ति पाउँदै आएका थिए । २०३९ सालमा पहिलोपटक पक्राउ पर्दा धरौटीमा छुटेका उनी २०४२ सालमा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए । पछिल्लोपटक २०६९ मा पक्राउ पर्दा उनी दुई वर्षमै छुटेको तथ्य प्रहरीसँग रहेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनको सीतापाइलामा मात्रै डेढ रोपनी जग्गासहितको विशाल बंगला रहेको छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटिएको छ । छानबिनबाट जोगिन कतिपय जग्गा उनले बकसमार्फत प्राप्त गरेको देखाएका छन् । मुद्दा कमजोर बनाउन उनले सत्तारुढदेखि प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत मिलाएको बताइन्छ ।

विभागले यातायात व्यवसायी रामबहादुर लामाको पनि सम्पत्ति रोक्का राखेको छ । ठगी र मिटरब्याजबाट उनले अवैध सम्पत्ति आर्जन गरेको प्रारम्भिक छानबिनमा देखिएको भएपनि डा महतले नै उनलाई जोगाइदिने ठेक्का लिएको जानकारहरुको भनाइ छ । लामाको स्थायी घर नुवाकोट रहेको छ । उनले  तारकेश्वर यातायात प्रालि र नागार्जुन भैरव बचत तथा ऋण सहकारी संस्थाको समेत अध्यक्ष रहेको बताउने गरेका छन् । लामालाई  महानगरीय प्रहरी परिसर, काठमाडौंले गत वैशाखमा ठगी अभियोगमा पक्राउ गरेको थियो । ठगी मुद्दामा अदालतबाट रु १० लाख धरौटी राखेर रिहा भएका थिए । सोलगत्तै प्रहरीले लामालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाएको थियो । प्रारम्भिक छानबिनमा लामासँग करोडौँको सम्पत्ति भेटिएको बताइन्छ ।

तारकेश्वर यातायात प्रालिका एक सदस्यका अनुसार उनले बस बेच्ने बताउँदै पेस्की लिने र पछि रकम फिर्ता नगरी गाडी पनि कब्जा गर्दै आएका छन् । उनलाई चिन्ने जान्नेहरुका अनुसार बिक्री गर्ने बताउँदै गाडी चलाउन दिने, आफैँले चर्को ब्याजदरमा ऋण दिने र ऋण चुक्ता भएन भनेर गाडी फिर्ता लिने उनको धन्दा रहेको छ ।  सहकारीबाट समेत उनले सदस्यहरूलाई नै ठगी गरेको भन्दै सहकारी विभाग र प्रहरीमा समेत उजुरी परेको छ ।

आनी छोइङ डोल्मामाथि चलेन मुद्दा

आनी छोइङ डोल्माको विदेशबाट आएको करिब १८ करोड रुपैयाँको स्रोतबारे डेढ वर्षदेखि छानबिन भइरहेको भएपनि उनलाई मुद्दा नचलाउन भनिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार उनको मेगा बैंकको खाता नम्बर ००१००५००३९४२४ मा रहेको रकम विभागले रोक्का राखी छानबिन गरिरहेको बताएपनि चुपचाप रकम निकाल्न दिएको छ । उनको नाममा  २०७५ वैशाख २६, २७ र २८ मा हङकङबाट पैसा आएको राष्ट्र बैंकले जनाएको छ ।

आनीले उक्त रकमको स्रोत खुलाउन नसकेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले विभागका अधिकारीलाई चुपचाप बस्न भनेको जानकार स्रोतको दावी छ । विभागले सोधपुछका लागि बोलाए पनि उनी उपस्थित हुन मानेकी छैनन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापासँग समेत आनीको मैत्री सम्बन्ध रहेको बालुवाटारमा पुग्नेहरुले बताउने गरेका छन् ।  विभागले प्रहरीलाई समेत उपस्थित गराउन पत्राचार गरेको भएपनि बादलले चलाउने प्रहरीले समेत घर फेला नपरेको भन्दै आनीलाई समेत जोगाउने काम गरेको छ । कालोधनको कारोबारीलाई जोगाएर नेकपाको सरकारले जनताको आँखामा आफ्नो नूर गिराएको भन्दै नागरिक स्तरमा विरोध भइरहेको छ । जन आवाहनबाट 

प्रतिक्रिया दिनुहोस