प्याज किन्न गएका मन्त्री भट्टलाई व्यापारीले ठगेपछि...

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १५ : १९
प्याज किन्न गएका मन्त्री भट्टलाई व्यापारीले ठगेपछि...

काठमाडौं । एकाबिहानै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुने, बजारमा प्याजको भाउ दोब्बरले बढेको छ । भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगेर प्याजको भाउ सोधे ।

व्यापारीले सचिलै चिनेर भने, ‘तपाइँ मन्त्री भट्ट हो नि, अनुगमनमा आउनुभएको हो ?’ व्यापारीले त्यसो भनेपछि प्याजको मूल्यको विषयमा मन्त्री भट्टले सामान्य जानकारी लिए । त्यहाँको व्यापारीले हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो, त्यहाँ हामीलाई महँगो लिएको छ, त्यतै गएर खोजीनीति गर्दा ठीक हुन्छ मन्त्रीज्यू भने ।

त्यसपछि मन्त्री भट्ट सरासर बल्खु गए । स्थानीय प्रहरीसँग समन्वय गरे । आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई केही परै राखेर एक्लै मुखमा मास्क लगाएर व्यापारीसँग प्याज मागे । मन्त्री भट्टले प्याज त किने तर उनी ठगिए ।  ४८ रुपैयाँमा मिलिरहेको प्याज मन्त्रीसँग १२० रुपैयाँ लिए । उनी एउटा पसलमात्र होइन, ५\७ वटा पसलमा प्याज किन्दै गए । केही पसलमा मन्त्री भट्ट ठगिए । जहाँजहाँ उनी ठगिएका थिए, एकछिनपछि ती व्यापारी प्रहरीको फन्दामा परे । 

मन्त्री भट्टले भने, ‘प्याज किन्दा म ठगिएँ,  उनीहरुले मलाई चिनेनन् । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो र उनीहरु फन्दामा परे।भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएपछि मन्त्री भट्ट स्थलगत अनुगमनमा निस्केका थिए । 

प्रहरीले प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरेको छ । चार जना प्याज व्यापारीलाई आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मासमेत लगाएको छ । यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिइएको छ। अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको कालोबजारी रोक्न विशेष टोली खटाएको छ। विभागका निर्देशक रविन्द्र आचार्यका अनुसार चाडपर्वको मुखमा हुने प्याजको कालोबजारी रोक्न १० सदस्यीय टोली सम्मिलित ‘प्याज अप्रेशन’ सुरु गरिएको हो। भारतले प्याजको निर्यात रोकेको छ। तर, निर्यात रोकिनुभन्दा अगाडि नै नेपालमा आइसकेको धेरै प्याज स्टक हुन सक्ने अनुमान गरिएको छ । निर्यात प्रतिबन्ध हुनुअघि सस्तो मूल्यमा ल्याइएको प्याज महँगोमा बेच्न नदिन र उपभोक्ता ठगिन नदिँन ‘प्याज अप्रेशन’ चलाएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस