नेकपाको ठहर, अन्तरविरोधले काम प्रभावित

पत्रपत्रिकाबाट

बुधबार, ३१ भदौ २०७७, ०७ : ५६
नेकपाको ठहर, अन्तरविरोधले काम प्रभावित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड–१९), सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार विषयमा केन्द्रित भएर काम गर्ने भएको छ ।

पार्टीभित्र उत्पन्न अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित भएको विश्लेषण गर्दै नेकपाले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई अन्तरपार्टीमा सोमबार पठाएको छ । अन्तरपार्टी निर्देशनमा संसद् समक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका नीतिगत विषयमा केन्द्रीय कमिटी वा स्थायी कमिटी वा सचिवालयमा संस्थागत रूपमा छलफल गरी पार्टीको धारणा तय गर्ने उल्लेख गरिएको छ । सरकार संविधानको रक्षा एवं भ्रष्टाचार तथा अनियमित कार्यका सम्बन्धमा सरकार आफैँले थालेको छानबिन प्रक्रिया यथाशक्य चाँडो निष्कर्षमा पु¥याउने निर्देशनमा उल्लेख गरिएको छ ।

भ्रष्टाचार र अनियमित कार्यप्रति शून्य सहनशीलताको मान्यता अनुरूप दोषीमाथि कडा कानुनी कारबाही गर्ने, भ्रष्टाचार नियन्त्रण तथा सुुशासन कायम गर्ने, अनुपयुुक्त प्रशासनिक खर्च कटौती गर्ने तथा मितव्ययी बन्ने नीति अवलम्बन गर्ने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । सञ्चार माध्यममा पार्टी हित विपरीत अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने चर्चा गर्दै नेकपाले वेबसाइट तथा अन्य सञ्चार माध्यममा देखापरेका पार्टी नेता तथा कार्यकर्ताको अराजक तथा अनुशासनहीन कार्य नियन्त्रण गर्न भनेको छ ।

पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको बैठकले पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने, पुनः त्यस प्रकारको अन्तरविरोध नहुने कुराको सुनिश्चित गर्ने, सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्ने भनी पार्टीले निर्देशन दिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस