काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्ततः पार्टीभित्रको तिक्ततापूर्ण अन्तर्विरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न सफल भएको बताएका छन् ।
पार्टीभित्रको विवाद हाललाई मत्थर भएपछि अध्यक्षद्वयले जारी गरेको अन्तरपार्टी निर्देशन–५ (सर्कुलर) मा ओली र प्रचण्डले भनेका छन्, ‘१० असार २०७७ बाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटीको पाचौँ बैठक २६ भदौ २०७७ मा सम्पन्न भयो ।
अप्रिय एवम् कटूतापूर्ण बन्दै गएको पार्टीभित्रको अन्तरविरोध, पार्टी तथा सरकारको काम र कोभिड– १९ को महामारी तथा सीमा समस्याजस्ता ज्वलन्त विषयहरूमा केन्द्रित भएको यो बैठक पार्टी इतिहासमै विशिष्ट महत्वको हुनपुगेको छ ।’
सर्कुलरमा यसअघि पार्टीभित्रको विवाद र अन्य समस्याको समाधान गर्न सकिन्छ या सकिँदैन, पार्टीको एकता अक्षुण रहन्छ वा रहँदैन ? भन्नेजस्ता अन्योलता रहेपनि अब त्यो सबै अन्योल हटेको ओली–प्रचण्डले बताएका छन् । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा छलफलपछि बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गरेको र सोहीअनुसार तल्लो तहमा सर्कुलर गरिएको हो ।
सर्कुलरमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठक समेत अवरुद्ध हुन गएको भएपनि अब विगतका कमीकमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गरिएको छ ।
यसैगरी सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गरिएको छ भने अतितमुखी नभइ भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प पनि गरिएको छ ।
आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने, सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्नुका साथै पार्टीलाई अनुसाशित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण पनि नेतृत्वले नेता कार्यकर्ता सामु गरेको छ ।
कार्यविभाजनबारे नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा थप प्रष्ट पारेको छ । स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्ताव अनुमोदन गरेसँगै सोमबार पार्टीपंक्तिमा जारी गरिएको आन्तरिक सर्कुलरमा ओली र प्रचण्डको कार्यविभाजनबारे प्रष्ट पारिएको हो । ‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ ।
एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ । यसका लागि अध्यक्षद्वयको कार्यविभाजन र कार्याधिकारनिम्नानुसार स्पष्ट गर्ने’ भन्दै सर्कुलरमा भनिएको छ :
– अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने । सम्बन्धित कमिटीको बैठकमा कार्यसूची पेश गर्ने, पारित गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने ।
– अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने ।
– अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।
– अध्यक्षद्वयले पार्टी र सरकारबीचको आपसी सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने । सामूहिक नेतृतव तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल तुल्याउने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० भदौ २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने