काठमाडौं । केपी ओलीका धेरै सपनामध्ये एउटा हो रेल । नेपालमा रेल ल्याउने विषय सुन्दा जसरी कथाझैँ लाग्छ, कार्यान्वयनको कथा उस्तै छ । मुलुक कोरोनाको महामारीमा फसेको बेला रेल विभागले हालै एउटा सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापा, सुनसरी र मोरङको नाममा जग्गा अधिग्रहणको ३५ दिने सार्वजनिक सूचनाबारे न जिल्ला प्रशासन जानकार थियो, न ऊ त्यो सूचनाअनुसार कार्यान्वयनको जिम्मेवार अड्डा हो । तैपनि जनताले मुआब्जाका लागि उजुरी दिए ।
त्यो उजुरी दिने स्थान भने स्थानीय तहलाई तोकियो । पूर्वको काँकडभिट्टादेखि इनरुवा खण्डसम्मको जारी सूचनाले जनतामा अन्योल थपिदियो, जतिबेला रेलको लिकले भेट्ने जग्गाको छेउछाउका जनता ती स्थानीय तहमा पुगे, त्यहाँ न जग्गाबारे प्रष्ट जानकारी थियो न नक्सा नै ! अनुमानका भरमा धेरै जग्गा मालिकले आफ्नो धनीपुर्जा बोकेर त्यहाँ पुग्दा न कित्ता नम्बर मिल्थ्यो न पर्याप्त जानकारी पाउँथे ।
सुन्दा रेलको सपनाले जति आनन्द दिन्छ, त्यति नै जनतामा पीडा छ । झापामा रेल पीडित संघर्ष समिति बनेको छ । जसले स्थानीय तहदेखि रेल विभागसम्म पुगेर ज्ञापनपत्र दिइसक्यो । तर, त्यसको कुनै सुनुवाइ भएको छैन । ०७७ साल जेठ २४ गतेको दिन जिल्ला प्रशासन कार्यालय झापाको नाममा जारी सूचना, सुनसरी र मोरङको जेठ २७ गतेको सार्वजनिक सूचनाले लकडाउनमा पनि जनतालाई आ–आफ्ना पालिकामा निवेदन दिन आउनु भनियो । त्यो सूचना जारी भएको समयदेखि ३५ दिनसम्म त लगातार लकडाउन नै भयो ।
रेलको सपना खण्डित सपनाको गीतझैं बनेको बेला । पूर्व–पश्चिम (मेची–महाकाली), काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराईलगायत दक्षिण सीमा (भारतीय बोर्डर) बाट महत्वपूर्ण औद्योगिक, व्यापारिक शहर एवं उत्तर सीमा (चीन–तिब्बत) बाट राजधानी काठमाडौंलाई रेलले जोड्ने योजना सार्वजनिक गरिएको छ । साथै औद्योगिक, व्यापारिक शहरहरूको रेल सञ्जाललाई पूर्व–पश्चिम एवं काठमाडौं तराईको रेल सञ्जालसँग आबद्ध गर्नेदेखि प्रादेशिक प्रशासनिक केन्द्रलाई पूर्व–पश्चिम एवं काठमाडौं तराई रेल सञ्जालसँग आबद्ध गर्नेसम्मका महत्वाकांक्षी लक्ष्य छ सरकारको । २० वर्षभित्र ४००० किमि रेल सञ्जाल निर्माण गर्ने, सो लक्ष्य पूरा गर्न आगामी १० वर्षभित्र १५०० किमि र ५ वर्षभित्र ७५० किमि रेल सञ्जाल निर्माण गर्ने रेल विभागको लक्ष्य अहिले मुआब्जामै अड्किएको छ ।
जग्गा प्राप्त नगरी कसरी रेलमार्ग बन्ला ? तर मुआब्जा नदिई, जनताको जग्गा रोक्का राखिएको छ । घरजग्गा नै रोक्का भएपछि धेरैको उठिबास हुने खतरा बढ्दो छ । कहिले रेल आउला ? कहिले मुआब्जा पाइएला ? पहिले नै निर्माणका लागि ठेक्का लगाइएको हल्ला छ । यसरी ठेक्का लगाउने विषय नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले भन्ने उखानजस्तै लाग्छ ।
रेल विभागले जग्गा अधिग्रहणको सूचना प्रकाशन गर्नेबाहेक मुआब्जा वितरणसम्बन्धी कुनै ठोस कार्य अगाडि बढेको छैन । जग्गा अधिग्रहणको सूचना प्रकाशन गर्दा सार्वजनिक गरिएको कित्ता नम्बर फरक परेपछि नम्बर अध्यावधिक गरी अर्को सूचना जारी गरिएको छैन । भदौ पहिलो साता रेल विभागका प्राविधिक आएर जग्गा छुट्याउन नापजोख गर्ने र रेलमार्गको वास्तविक क्षेत्र टुंग्याउने भनिए पनि त्यो कार्य हुन सकेको छैन । जग्गा अधिग्रहणको कानुनी प्रक्रिया पूरा नगरी ठेक्का लगाएको भनेर चौतर्फी विरोध भइरहेको बेला काँकडभिट्टा–इनरुवा १ सय ६ किमि रेलमार्गको ट्र्याकबेड निर्माणसम्बन्धी ठेक्का लागिसकेको छ ।
अख्तियार तथा महालेखाको निर्देशन र अर्थ मन्त्रालयको मार्गदर्शन मात्र होइन, सार्वजनिक खरिद नियमावली भन्छ– जग्गा प्राप्ति भएर साइट खाली नहुँदै ठेक्का लगाउन पाइने छैन । तर, काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणका लागि कूल ६ सय ८१ बिघा ९ कठ्ठा १० धुर जग्गा अधिग्रहण गर्नुपर्ने रेल विभागको सर्भेमा छ । जसमध्ये झापामा सबैभन्दा धेरै ३ सय ३७ बिघा १७ कठ्ठा जग्गा अधिग्रहणका लागि सूचना निस्किएको छ । उक्त क्षेत्रमा प्रभावितलाई भने रेलको लिक कहाँबाट जान्छ भन्नेसमेत थाहा छैन । जसकारण प्रभावित क्षेत्रका बासिन्दा अन्योल र तनावमा छन् ।
यद्यपि, रेलमार्गका कारण उठिबास लाग्ने खतरा भएको भन्दै रेलमार्ग प्रभावितहरूले आन्दोलन जारी राखेका छन् । चित्तबुझ्दो मुआब्जा नपाई रेल विभागलाई आफ्नो जग्गा जमिनमा पाइला हाल्न नदिने पक्षमा उभिएका छन् पीडितहरू । उनीहरूले ठेकेदारलाई गाउँ छिर्न नदिने भएका छन् । उता, विभागको कामले लथालिंग चाला देखाएको छ । जस्तो कि हालसम्म न कित्ता नम्बर अद्यावधिक गर्ने काम भएको छ, न विभागलाई रुख काट्ने अनुमति नै प्राप्त छ । एक सय ६ किमि लामो रेलमार्गको विभिन्न ठाउँमा वन क्षेत्र पर्छ । कूल आठ हजार ३० वटा रूख काट्नुपर्ने
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ । त्यो त कता हो कता ? प्रधानमन्त्रीज्यू, तपाईंकै रेलको सपनाले तपाईंकै जिल्लाका जनताको थातथलो उठिबास लाग्दै छ । तपाईंकै महत्वाकांक्षी योजना तपाईंकै लागि कतै पेचिलो बन्ने त होइन ? रेल पीडितको आवाजले कतै प्रधानमन्त्रीको सररर चियाको कप बोकेर सुरुप्प पार्दै रेल चढ्ने सपनालाई खण्डित बनाउने त होइन ? चुच्चे, बुच्चे रेलदेखि भारतीय भद्दा रेलहरूको मोहले कतै जनताको विपना नै भंग त हुने होइन ? –जनआस्था साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ भदौ २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना