विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने ट्रेकिङ एजेन्सीमाथि कारवाही

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०८२, १५ : ४२
विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने ट्रेकिङ एजेन्सीमाथि कारवाही

काठमाडौँ । नेपाल ईन्भाइरोमेण्टल ट्रेक्स एण्ड एक्सपिडिसनले पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको पाइएपछि अध्यागमन विभागले एजेन्सीमाथि कारवाही गरेको छ। विभागले पहिलो पटकका लागि अध्यागमन ऐन, २०४९ अनुसार उक्त एजेन्सीलाई ४५ हजार रुपैयाँ जरिवाना लगाएको हो।

एजेन्सीले दोलखा जिल्लाको गौरीशंकर क्षेत्रमा इटालीका नागरिक एना मार्कोन र म्यासियोम कार्लानलाई लिएर गएको थियो। पदयात्रीहरूको आपत्कालीन उद्धार गर्नुपर्ने अवस्था आएपछि मात्र एजेन्सीले विभागसँग अनुमति मागेको पाइएको छ।

नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट अनुमति पत्र लिनुपर्छ। अध्यागमन नियमावली, २०५१ अनुसार यस्ता क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले सम्बन्धित एजेन्सीमार्फत् अनुमति निवेदन दर्ता गराउनुपर्ने व्यवस्था छ।

उक्त यात्रामा कम्पनीतर्फबाट ट्रेकिङ गाइड भीम प्रसाद पनेरु सहभागी भएका थिए। उनीविरुद्ध आवश्यक कारबाहीका लागि पर्यटन बोर्डमा समेत पत्र पठाइएको विभागले जनाएको छ।

नेपालमा सीमा तथा सुरक्षा संवेदनशीलताका कारण विभिन्न स्थानहरू निषेधित क्षेत्रका रूपमा तोकिएका छन्। तीमध्ये माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट-नाम्खा-चुंखेली, गोरखाको मनास्लु क्षेत्र, कञ्चनजंघा क्षेत्र, दोलखाको गौरीशंकर-लामाबगर, किमाथांका, छेकम्पार, चुञ्चेत लगायतका क्षेत्र प्रमुख छन्।

प्रतिक्रिया दिनुहोस