कोरोना महामारीमा सरकारको लगानी : मठ, मन्दिर, संघसंस्था

पत्रपत्रिकाबाट

सोमबार, २२ भदौ २०७७, ०७ : ३१
कोरोना महामारीमा सरकारको लगानी : मठ, मन्दिर, संघसंस्था

सांकेतिक तस्विर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा असार २९ गते पौराणिक ग्रन्थ रामायणका पात्र रामको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिए । वीरगन्ज छेउको ठोरीमा रामको जन्म भएको ठोकुवा नै गरेका उनले साउन २४ गते चितवनको माडीका जनप्रतिनिधिलाई काठमाडौंमा बोलाए । त्यतिखेर उनले माडीमा राम मन्दिर निर्माणबारे अध्ययन गर्न आग्रह मात्रै गरेनन्, मन्दिर बनाउन सबै खर्च जोहो गर्ने वचन दिए ।

प्रधानमन्त्रीको त्यही कुराले हौसिएर माडी फर्किएका जनप्रतिनिधिले मन्दिर निर्माणका लागि ५० बिघा जग्गा तीन ठाउँमा हेरेका छन् । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलका अनुसार कोरोनाको संकट कम हुनेबित्तिकै राम मन्दिर बनाउने काम सुरु भइहाल्छ । माडी त्यही ठाउँ हो जहाँ निकुञ्ज छेउमा बसोबास गरेका सुकुम्बासी चेपाङको घरमा सैनिकले साउन २ गते आगो झोसिदिएका थिए भने घोंगी खोज्न गएका बेला साउन १ मा सैनिककै पिटाइबाट घाइते भएका राजकुमार चेपाङको मृत्यु भएको थियो ।

सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरीको मुसहर टोलमा यही वर्ष शिवजीको पक्की मन्दिर बनेको छ । नगरपालिकाको आर्थिक सहयोगमा उक्त टोलमा मन्दिर त बन्यो तर त्यही टोलका करिब सय परिवार घामपानी छेक्न नसक्ने घरमा वर्षौंदेखि बस्दै आएका छन् । स्थानीय बलदेव रामका अनुसार चुनावका बेला नेताहरू घर बनाइदिन्छु भनेर भोट माग्न आए र चुनाव जितेको दुई वर्षपछि एउटा मन्दिर मात्रै बनाएर छाडिदिए । पथरी त्यही ठाउँ हो जहाँ गत जेठ ६ गते भोकलाई जित्न नसकेर ५० वर्षीय मलर सदाको निधन भएको थियो । मजदुरीमै निर्भर उक्त टोलका अधिकांशको नागरिकतासमेत छैन ।

सुदूरपश्चिम प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले गत आर्थिक वर्षमा बझाङको दुर्गाथली गाउँपालिका–१, चिमाडी गाउँमा बाठपाला मुथीपाटा मन्दिर निर्माण भनेर १४ लाख रुपैयाँ विनियोजन गर्‍यो । तर यो रकम बाठपाला मन्दिरभन्दा ५० मिटर जति टाढा घर निर्माणमा खर्च भयो । उक्त दुईकोठे घर बनाइएको जग्गा आफ्नो नाममा दर्ता रहेको

खड्कप्रसाद चिमाडीले बताए । उनले मन्दिर नभई घर नै बनाएको र त्यो दैपाँण ९वर्षमा एक–दुईपटक मन्दिरमा पूजाआजा गर्दा श्रद्धालु बस्ने घर जुन पूजाका बेलाबाहेक घर धनीले प्रयोग गर्छन्० भएको बताए । ‘एउटा कोठा हलजस्तो बनाएका छौं, त्यो दैपाँण हो । अर्को कोठा चैं सुत्नका लागि बनाएको हो,’ उनले भने ।

दुर्गाथली–१ का नागरिक भने वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका छन् । उनीहरूले सुक्खायाममा खानेपानीकै लागि भनेर घन्टौं टाढा पुग्नुपर्छ । यहाँ निर्माण भएको सडकका कारण १५ घर पहिरोको जोखिममा छन् । खानेपानी, पहिरो नियन्त्रणजस्ता विषयलाई प्राथमिकता नदिएर व्यक्तिका मन्दिरमा किन रकम पुगेको होला रु त्यही वडाका अध्यक्ष राजेन्द्र थापाले भने, ‘मन्दिर पनि चाहिने कुरा नै हो । हामी सबै समस्या समाधान गर्न लागिरहेका छौं ।’

केन्द्र र सातवटै प्रदेश सरकारले मठमन्दिर निर्माण, पुनर्निर्माण र स्तरोन्नतिमा चालु आर्थिक वर्षका लागि मात्रै १ हजार ३ सय ३९ ठाउँका मठमन्दिरमा लगानी गर्ने घोषणा गरेका छन् । यसका लागि २ अर्ब ६४ करोड ५२ लाख ४१ हजार रुपैयाँ छुट्याइएको छ । यसमा विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक धरोहर, सांस्कृतिक महत्त्व बोकेका पुराना सांस्कृतिक तथा धार्मिक स्थलका लागि विनियोजित रकम जोडिएको छैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस