तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट दुई करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।
महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट दुई करोड ५० लाख सङ्कलन भएको जानकारी दिए ।
यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले पाँच लाखभन्दा धेरै दान दिएको उनले बताए ।
छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ ।
समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिएका थिए ।
समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ