विदेशमा अलपत्र नेपालीलाई निःशुल्क फर्काईदिने प्रस्ताव माथि नेपाल सरकारको किन बढ्दैछ आनाकानी ?

रासस

बुधबार, १७ भदौ २०७७, ०८ : १७
विदेशमा अलपत्र नेपालीलाई निःशुल्क फर्काईदिने प्रस्ताव माथि नेपाल सरकारको किन बढ्दैछ आनाकानी ?

काठमाडौं । विश्वभरि नै कोरोना कहर शुरु भएसंगै अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु विदेशमा अलपत्र परेर बसेका छन् । कहिले नेपाल पुगौला, भन्ने उनीहरुमा छटपटि शुरु भएको छ । नेपाल सरकारले केही देशबाट नेपालीहरुको उद्धार गरेपनि अहिले पनि उद्धार हुन बाँकी लाखौको संख्यामा प्रवाशीहरु रहेका छन् ।

उनीहरुलाई अहिले सम्म पनि सरकारले तदारुकताका साथ फिर्ता ल्याउन सकेको छैन् । तर उनीहरु बसेको स्थानबाट त्यहीको सरकारले निःशुल्क फर्काउने भनेपनि नेपाल सरकारले आनकानी गर्दै आएको छ ।  युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको हो ।

सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ ।

एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । बुधबार कार्यालय गएर बुझ्ने उनको भनाइ छ । सरकारले ८ सय कोटा तोकेको र सोहीअनुसार प्रस्ताव अध्ययन गरेर मात्रै निर्णय लिने सचिव अधिकारीले बताए । 

एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म चार्टर उडान प्रस्ताव गरेको हो । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ । भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो । 

प्रतिक्रिया दिनुहोस