CG Landmark

मैनालीले कवितामार्फत् बसाउन चाहेको ‘प्रेमबस्ती’

मंगलबार, १६ भदौ २०७७, ११ : ०१
मैनालीले कवितामार्फत् बसाउन चाहेको ‘प्रेमबस्ती’

– रमेश प्रभात 

भनिन्छ प्रेमका बारेमा बोल्न सजिलो मात्र छैन, निकै जोखिमपूर्ण पनि छ । त्यही जोखिम मोल्न हाम्रो माझ ‘प्रेमबस्ती’ कवितासङ्ग्रह लिएर कवि श्वेता मैनाली आएकी छन् । चितवनमा जन्मिएकी र हाल अष्ट्रेलियामा बसोबास गर्ने पेसाले नर्स मैनाली सानैदेखि साहित्यमा रुचि राख्ने गर्थिन् । उनले प्रेममा अगाध आस्था राख्दैे ३३ वटा फुटकर कविता समेटेर ‘प्रेमबस्ती’ कवितासङ्ग्रह प्रकाशित गराएकी हुन् । 

Yeti Diistillery Tansen Cement box

विषयप्रवेश
प्रेम शाश्वत भाव हो । मानवले भाषाको विकास गरेदेखि प्रेमका बारेमा विविध खालका अभिव्यक्ति दिँदै आएको पाइन्छ । प्रेमका विषयमा बोल्नु सजिलो मात्र छैन, जोखिमपूर्ण पनि छ । यही जोखिम मोल्न नवीनतम कविताकृति ‘प्रेमबस्ती’ लिएर कवि मैनाली आएकी हुन् । 

‘प्रेमबस्ती’ कवितासङ्ग्रहमा समेटिएका प्रेमका विविध भावहरू
विवेच्य कृति ‘प्रेमबस्ती’ कवितासङ्ग्रहको पहिलो कविता ‘आमा’बाट सुरु भएको छ भने अन्तिम ‘प्रेमबस्ती’मा पुगेर टुङ्गििएको छ । यसका विभिन्न कविताहरूमा प्रेमका विविध भावहरू समेटिएका छन् । यसका पुष्टि तलका साक्ष्यहरूले गर्छन् :

क) आमाको माया 
    आमा सृष्टिको अनुपम सृजना हो । त्यसो त आमाको सृजना नै प्रेम गर्नका लागि हो । कविले आमाको काखलाई प्रेमको अजस्र भण्डार ठान्दै यस्तो भनाइ राखेको पाइन्छ :
    जसका काखमा पीरबाधाहरू छुमन्तर हुन्छन्
    जसको वात्सल्य हेरेर मायाका परिभाषा बन्छन् ।
    (आमा, पृ. ११)

ख) बाबुको माया 
    बालकका लागि आमाको माया मात्र सबथोक होइन । बाबुको माया पनि उत्तिकै आवश्यक हुन्छ । कविका दृष्टिमा बाबुको मायाले जाडोमा न्यानो र गर्मीमा शीतलता दिने कुरा यसरी अभिव्यक्त भएको छ :
    जाडोको न्याने घाम जस्तै
    गर्मीको शीतल छहारी जस्तै
    बा ! तिमी तिमी थियौ ।
    (बाको माया, पृ. १४)

ग) देशको माया 
    देश भनेको आमा–बाबुभन्दा पनि ठूलो कुरा हो । जसको देश हुँदैन, उसको परिचय पनि हुँदैन । देश छाडेर परदेशमा बस्न विवशहरूले देशको मर्म राम्ररी बुझेका हुन्छन् । उनीहरूको हरेक धड्कनमा देश पाइन्छ भन्ने कुरालाई कविले यसरी वाणी दिएको पाइन्छ :
    आज दैलो दैलोमा दीयो जलेको छैन
    मेरो देशको हरएक टुकीमा आत्मीयता बलेको छैन ।
    (देशको दीप, पृ. १६)

घ) आमा–बाबुको तुलनामा देशको माया 
    आमा–बाबु जहाँ हुन्छन्, बालबच्चाका लागि त्यही उसको घर हो । घर भनेको संरक्षण हो, जुन देशसँग सम्बन्धित हुन्छ । आमा र बाबुले जसरी सन्तानको सुरक्षा गर्छन्, त्यसरी नै देशले आफ्नो नागरिकको सुरक्षा दिन्छ । एउटा बालकले आमा–बाबुमा देशको छवि देखेको हुन्छ भन्ने कुरालाई कविले यसरी मुखरित गरेको देखिन्छ :
    आमाले बाल्दै गरेको दीयो
    बाले टपरीमा प्वाल पारेर ढाकिदिँदा
    हावा पनि कोल्टे फेरेर भाग्थ्यो । 
    (देशको दीप, पृ. १६)

ङ) अतीतप्रतिको प्रेम 
    समय अत्यन्त बलवान् छ । आजको दिन भोलि अतीत भइसक्छ । मान्छेले अतीतका सुन्दर कुराको स्मरण गरेर रमाउँछ । अतीतमोह भन्नु जीवनप्रतिको प्रेम हो । कविमा अतीतप्रति असीम प्रेम भेटिन्छ, जसलाई तलको साक्ष्यले पुष्टि गर्छ :
    लौ आयो दशैँ आयो हालेर भाका 
    मस्तीमा झुम्दै गाउँला र फेरि
    मानेर उस्तै रमाइलो हामी
    निधार भरि त्यो रातो टीका
    लाउँला र फेरि ?
    त्यो प्यारो दशैँ आउला र फेरि ?
    (त्यो झिल्के दशैँ आउला र फेरि, पृ. २७)

च) प्रेममा हुने विछोडको चित्रण 
    प्रेम भनेको पाउनु मात्र होइन, गुमाउनु पनि हो; मिलन मात्र होइन, विछोड पनि हो । हामी मिलनमा रमाउँछौँ, तर प्रेममा अधिकतम विछोड नै हुने गर्छ । कविले यस्तै विछोडका भावनालाई यसरी चित्रित गरेको पाइन्छ :
    धर्को जोड्ने बहानामा
    उनीहरू चर्को मात्र भए
    चित्रमा न ऊ अटाएको थियो
    न उनी समेटिएकी थिइन् ।
    (आकार किसिमको, पृ. ३२)
    +    +    +
    ओसिला परेलीहरू पनि
    बेला बेला उघ्रिएर
    तिमीलाई नै खोजिरहेछन् ।
    (नओभाएका आँखाहरू, पृ. ६९)

छ) प्रेमको आकर्षणको चित्रण 
    जसरी चुम्बकले विपरीत ध्रुवलाई आफूतिर आकर्षित गर्छ, त्यसरी नै प्रेमले पनि अरूलाई आफूतिर आकर्षित गर्छ । यसरी आकर्षित गर्नु नै प्रेमको सबैभन्दा ठूलो शक्ति हो, जसलाई यसरी अभिव्यक्त गरेको पाइन्छ :
    फुत्किन्छौँ कि कहीँ कतै भनी
    एक अर्कालाई समाती रह्यौँ
    हाम्रो विपरीत ध्रुवले
    हामीलाई नजिक खिचिरह्यो ।
    (चुम्बक जस्तै हामी, पृ. ३५)

ज) प्रेमको प्राप्तिको चित्रण 
    प्रेमले हरेक व्यक्तिलाई आफू धन्य भएको ठान्न लगाउँछ । आफूलाई पूर्ण ठान्ने वातावरणको सिर्जना गराउनु नै प्रेमको प्राप्ति हो । कविले पनि आफूमा त्यस्तै भावना आएको कुरालाई गीतिलयमा यसरी अभिव्यक्त गरेको देखिन्छ ः
    आधी आधी मिलाएर
    म त साँच्चै भरि भएँ
    तिमीसँगको सम्बन्धले
    म त रानीचरी भएँ ।
    (म त रानीचरी भएँ, पृ. ३६)
    +    +    +
    तिमीले दिएका प्रीतहरूले
    मेरा रातहरू जूनझैँ सुन्दर छन्
    सूर्योदय र सूर्यास्त त
    बहाना मात्र थियो ।
    (तिमी मेरो सूर्योदय, तिमी मेरो सूर्यास्त, पृ. ७९)

झ) प्रेममा हुने सोचाइको भिन्नताको चित्रण 
    जसरी जीवनलाई हेर्नेहरूले आ–आफ्नै तरिकाले हेर्छन्, त्यसरी नै प्रेमलाई पनि हेर्नेहरूले आ–आफ्नै तरिकाले हेर्ने गर्छन् । व्यक्तिले अरूलाई उपहार दिँदा पनि त्यस्तै विचारले काम गरेको हुन्छ भन्ने कुरालाई कविले यसरी चित्रण गरेको देखिन्छ :
    प्रेमदिवसको दिन
    उपहार तिमीले पनि ल्यायौ
    उपहार मैले पनि ल्याएँ
    तिमीले बन्दुक बोकेर आयौ
    मैले गुलाफ लिएर आएँ ।
    (प्रेमदिवस, पृ. ४२)

ञ) प्रेमको निरन्तरताको चित्रण 
    प्रेम भनेको अविराम यात्रा हो । यसको थालनी कुनै बिन्दुबाट अवश्य हुन्छ, तर अन्त्य भने जीवनभर कतै पनि हुँदैन । प्रेममा कुनै गन्तव्य नहुने ठहर कविको रहेको छ । कवि प्रेमलाई निरन्तरको यात्रा ठान्दै यसरी अभिव्यक्त भएका छन् ।
    गन्तव्यविहीन निरन्तर र अनन्त नै
    प्रेम हो
    अन्त्य होइन, निरन्तर नै प्रेम हो ।
    (प्रेम र गन्तव्य, पृ. ४७)

ट) प्रेममा लेनदेनको चित्रण 
    ठान्नेहरू प्रेमजस्तो पवित्र कुरालाई पनि लेनदेनसँग तुलना गर्छन् । सामान पैँचो दिएजस्तो प्रेमलाई पनि पैँचोको रूपमा लिन्छन् भन्ने कुरालाई कविले आफ्ना शब्दमा यसरी चित्रण गरेको पाइन्छ :
    मेरो भन्दा तिम्रो धेरै 
    किन हुन्थ्यो प्रेम
    जति दियो उति फिर्ता
    पैँचो भो प्रेम ।
    (पैँचो भो प्रेम, पृ. ४९)

ठ) काव्यप्रेम 
    प्रेम भन्ने कुरा विपरीत लिङ्गीसँग मात्र हुँदैन । देशसँग हुने प्रेम, भाषा, साहित्य र सँस्कृतिसँग हुने प्रेम त्यसका उदाहरण हुन् । कविलाई काव्यसँग अपार प्रेम छ, जसलाई तलको साक्ष्यले पुष्टि गर्छ :
    दिनहरू जस्तो जस्तो रह्यो
    म तिमीलाई त्यस्तै देख्छु
    त्यसैले त झरीमा कविता होइन
    म कवितामा झरी लेख्छु ।
    (झरी, पृ. ६५)
    +    +    +
    शब्दमा माया अनूदित भए 
    उनेर सबै शब्दलाई
    यौटा माला जोरिदिन्थेँ
    महाकाव्य कोरिदिन्थेँ ।
    (शब्दमा माया सीमित भए, पृ. ८१)

ड) प्रेमको दर्शन 
    प्रेम अपार हो, यसलाई विविध कोणबाट वर्णन गर्न सकिन्छ । प्रेम छ, संसार छ, प्रेम टुटेपछि केही बाँकी रहँदैन । मनबाट नातासम्बन्ध टुटेपछि सम्बन्ध–विच्छेदका लागि अदालत जानु नपर्ने भावलाई दार्शनिक पाराले कविले यसरी व्यक्त गरेको पाइन्छ :
    मनको नाताको सम्बन्ध–विच्छेद गर्न
    अदालत पुग्नु पर्दैन रहेछ
    बस् मनैमा सही ठोकिदिए पुग्ने रहेछ ।
    (फरक कोण, पृ. ८८)

ढ) प्रेमबस्तीको कल्पना 
    संसारका हरेक व्यक्ति आफ्नो बस्तीलाई प्रेमबस्ती भएको हेर्न चाहन्छ । कविको पनि मनभित्र त्यस्तै प्रेमबस्तीले बास गरेको छ, जसलाई शब्दमार्फत् यसरी अभिव्यक्त गरिएको छ :
    खुसी यहीँ छ, पीडा यहीँ छ
    प्रेम यहीँ छ, धोका यहीँ छ
    ईश्वरका रूपमा राम यहीँ छ
    र, आत्मा बेच्ने हराम यहीँ छ 
    यहीँ छन् प्रेमले ओतप्रोत प्रेमिल मनहरू ।
    (प्रेमबस्ती, पृ. ९२)

समापन
    ‘प्रेमबस्ती’ कवितासङ्ग्रह प्रेमको काव्यात्मक दस्तावेज हो । यसमा जम्मा ३३ वटा फुटकर कविताहरूमार्फत् प्रेमका विविध भावहरू तरङ्गित भएका छन् । त्यति मात्र नभएर प्रेममय तवरबाट संस्कृतिप्रति विद्रोह पनि गरिएको छ । जसलाई तलको साक्ष्यमा देख्न पाइन्छ :
    ए रातो तीज !
    तिमी किन कुनै वर्ष सफेद हुन सकेनौ ?
    ए रातो तीज !
    रातोसँग अलग्गिएकाहरूलाई
    किन कुनै वर्ष समेट्न सकेनौ ?
    (सफेद तीज, पृ. २९)
    

समग्रमा ‘प्रेमबस्ती’ कवितासङ्ग्रह प्रेमको मसीले प्रेमकै कागजमा कोरिएको प्रेमिल कविताहरूको सञ्चयन हो । यसमा प्रेमलाई सरल ढङ्गले उतार्ने काम भएको छ । पहिलो कृति भएकाले वर्णनमा सरलता यसको सीमा भएर पनि यही नै यसको शक्ति पनि बनेको छ । अन्त्यमा यसै कृतिबाट एउटा उद्धरण प्रस्तुत गर्दै कलम रोक्न चाहन्छु :
    यो बिहान यस्तो लाग्छ
    झझल्का तिम्रा मसम्म बगिरहेछन्
    तिम्रा सभ्झनाहरू पानी बनेर
    मेरै कवितालाई भिजाइरहेछन् ।
    (मेरो बिहानी अनि तिमी, पृ. ५०)

(समीक्षक वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका उपप्राध्यापक हुन् ।)