जनता समाजवादीमा नेता ब्यवस्थापनमा सकस, पदाधिकारी मात्रै ४५ जना

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १० : ३३
जनता समाजवादीमा नेता ब्यवस्थापनमा सकस, पदाधिकारी मात्रै ४५ जना

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर पार्टी नै टुक्रयाउने योजना बनाएपछि हतारमा एकताबद्ध भएका तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच अहिले पार्टी एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको छ । निर्वाचन आयोगले यो दललाई एकतापछि दर्ता समेत गरिदिईसकेको छ ।

नेकपा र काँग्रेसपछि संघीय संसदको प्रतिनिधीसभामा ३३ जना सांसदको प्रतिनिधित्व गर्दै तेश्रो ठूलो दल बनेको जसपाले पार्टी एकतापछि नेताहरुको ब्यवस्थापन गर्न निक्कै सकस ब्यहोरेको छ । त्तकालिन दुवै पार्टीमा कार्यकर्ता भन्दा नेता बढी देखिएपछि नेताहरुको चित्त बुझ्दो ब्यवस्थापन जसपालाई टाउको दुखाई बनेको थियो । जसकाकारण उसले नेताहरुको ब्यवस्थापन टुंगो लगाउन नसक्दा अझै पनि पार्टी संरचनालाई निर्माण गर्न सकेको छैन् । 

जसपा नेता केशव झाका अनुसार, अब भने नेताहरुको उचित ब्यवस्थापनको मार्गचित्र बन्दै जान थालेको छ । तत्कालिन राजपामा ६ नेता रहेको अध्यक्ष मण्डल थियो । त्यस्तै समाजवादीमा पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष थिए । जसकाकारण एकीकृत पार्टीमा अध्यक्ष दाबी गर्ने नेताहरु नै ८ जना देखिएका थिए । जसकाकारण पनि उसलाई नेताहरुको उचित ब्यवस्थापन निक्कै सकस परेको थियो । 

अहिले भने उसले केन्द्रीय कार्यकारिणी समितिमा पदाधिकारीनै झण्डै ४५ जनाको जम्बो बनाउने गरी नेता ब्यवस्थापनको संगठनात्मक मोडलमा पार्टीलाई लैजाने तयारी गरेको छ । अहिले जसपामा दुई अध्यक्ष छन् । उपेन्द्र यादव र महन्थ ठाकुरलाई पार्टीको केन्द्रीय अध्यक्षको रुपमा जिम्मा दिईएको छ ।

 निर्वाचन आयोगमा दल दर्ताको अन्तिम तयारी गर्दा डा. बाबुराम भट्टराईले भने आफुले भने अनुसारको पदीय जिम्मेवारीमा नेताहरुभित्रैबाट किचलो उत्पन्न गरेपछि आफु वरिष्ठ नेता मात्र रहने गरी वरियतामा समेत पछि बस्ने बताएका थिए । त्यसपछि नेता ब्यवस्थापनमा झन सबै नेताहरुको चित्त बुझाउन जसपालाई हम्मे हम्मे परेको थियो ।

अहिले उसले केन्द्रीय अध्यक्ष २ जना, ४ जना सहअध्यक्ष, १६ जना उपाध्यक्ष, ८ जना वरिष्ठ नेता, ६ जना महासचिव, ६ जना नै उपमहासचिव, ८ जना सचिव र एक एक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी ४४ जनाको पदाधिकारी बनाउन लागेको छ । संघीय परिषद्मा समेत अध्यक्ष रहने गरी ब्यवस्थापन गर्दा ४५ सदस्यीय पदाधिकारी जसपाको हुने देखिएको छ ।  संघीय परिषद्मा ११ सय १ जना, राजनीतिक समिति १५१ जना र कार्यकारिणी समिति ५३ जना रहने गरी उसले नेताहरुको ब्यवस्थापन गर्न चाहेको छ ।

कुलमा उसले २०५८ पद सिर्जना गरेको जसपाका नेता केशव झाले बताए । संघीय परिषद्मा डा. बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने तयारी जसपाको छ । तर त्यसको औपचारिक निर्णय भईसकेको छैन् । सबै पदमा दुवै पक्षका नेताहरुको समान सहभागिता हुने गरी भागवन्डा लगाईएको छ । 

जम्बो संगठनात्मक संरचना बन्ने भएपछि त्यसको कार्यविभाजन कसरी गर्ने भन्ने अर्काे समस्या पनि उसका लागि देखा परेको छ । कति संख्याका के के पद रहने भन्ने विधानको ब्यवस्थामा सहमति जुटेपनि कुन नेतालाई कुन पदमा ब्यवस्थापन गर्ने भन्नेमा अझै पनि छलफल बाँकी नै रहेकोले उसले टुंगो लगाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस