आफू बसेको क्वारेन्टिनलाई आर्थिक सहयोग

रासस

शुक्रबार, ०५ भदौ २०७७, १२ : २५
आफू बसेको क्वारेन्टिनलाई आर्थिक सहयोग

गण्डकी । विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई त्यहाँ बसी बिदा भएका तीन युवाले सहयोग गरेका छन् । भलाम स्थायी बसोवास भई हालै भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका सन्तोष नेपाली र मोहोरियाका गोपी गुरुङले -यालेचौर बेंसीस्थित क्वारेन्टिनमा बसेर बिदा हुँदै गर्दा आर्थिक सहयोग गरेका हुन्।

क्वारेन्टिन बसाइको नौ दिनपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बिदाइ हुने क्रममा क्वारेन्टिनमा घरभन्दा पनि राम्रो सेवा सुविधा दिइएको र आगामी दिनमा यसको उचित व्यवस्थापनमा अझै सहयोग पुगोस् भन्दै  गुरुङले रु पाँच हजार ५५५,  नेपालीले रु पाँच हजार र  घर्तीले रु तीन हजार २०० सहयोग गरेका हुन्।

सहयोग हस्तान्तर गर्दै उनीहरूले आफू जस्तै व्यक्तिको सहयोगबाट क्वारेन्टिन  निर्माण र व्यवस्थापन गरेका कारण त्यसबाट प्रभावित भई स्वतस्फुर्त रुपमा सहयोग गरेको बताए ।

क्वारेन्टिनको बसाइ अवधिमा प्राप्त सेवासुविधा तथा इन्टरनेटले गर्दा आफूहरुले  एक्लोपनको महसुस गर्नुनपरेको बताउँदै उनीहरूले सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने बताए ।

उक्त अवसरमा पोखरा–२० का वडाध्यक्ष तथा ¥यालेचौरबेंसी क्वारेन्टिन होम मूल व्यवस्थापन समितिका संयोजक सिम गुरुङले घर फर्किँदै गर्दा क्वारेन्टिनलाई सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै घर फर्के पनि थप सात दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरे ।

क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि विभिन्न व्यक्तिको साथ र सहयोग रहेको तथा हालै निर्मित क्वारेन्टिन भवनमा आठ कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टिनमा स्वस्थकर खाना, विदेशबाट ल्याएका सामान राख्ने छुट्टै भण्डार कोठा, छुट्टाछुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेका लागि तातो तथा चिसो स्वस्थ पिउने पानी, बाथरुम, इन्टरनेटलगायत सुविधा छ ।

क्वारेन्टिन ब्यवस्थापनका लागि दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक क्वारेन्टिन सहयोगीसमेत रहेको उनले जानकारी दिए ।

पोखरा– २० कार्यालयले विदेशबाट घर आउनेलाई लक्ष्य गरी ¥यालेचौरस्थित महेन्द्र माविको पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो । दीर्घकालीन सोचका साथ लामो समयदेखि बन्द माविको पुरानो भवनमा निर्मित क्वारेन्टिन कोरोनाको कहर अन्त्यपछि  पनि बहुउद्देश्यीय ढङ्गले प्रयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस