प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले भने,–‘तपाईको ब्यवहार फेरि उस्तै देखिन थाल्यो’

विवादास्पद व्यक्तिहरुको राजनितिक नियुक्ति धमाधम

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, ०९ : १७
प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले भने,–‘तपाईको ब्यवहार फेरि उस्तै देखिन थाल्यो’

काठमाडौं । सत्तारुढ दल नेकपामा सहमति उन्मुख छलफल भईरहेका बेला प्रधानमन्त्री केपी ओलीले फेरि केही विवादास्पद राजनीतिक नियुक्ति गर्न थालेपछि नेताहरुका बीचमा पूनः प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद् बैठक राखेर समाज कल्याण परिषद्को उपाध्यक्षमा इलामका लोकनाथ सुवेदी, युवा व्यवसायी तथा साना कोषको उपाध्यक्षमा खोटाङका देवराज रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा कास्कीकी दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय लिएका थिए ।

त्यसमध्ये बुधबार प्रेस काउन्सिलमा भने उक्त निर्णय कार्यान्वयन नगराउन सर्वाेच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । यी नियुक्तिहरु प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधब नेपालको चर्काे विरोधमा उत्रने, सञ्चारमाध्यममा नेताहरुको वदख्याई गर्दै लेख लेख्ने, सामाजिक सन्जलमा पनि छद्र प्रकारका टिप्पणी गर्नेहरु छानी छानी नियुक्ति दिलाएका थिए ।

यस अगाडी पनि रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरु प्रसाद भटटराई, उपत्यका शहरी विकासको अध्यक्षमा कृष्ण सापकोटा लगायतका विवादित ब्यक्तीलाई नियुक्ति दिलाएका थिए । भट्टराई, सापकोटा लगायत जस्तै ओलीले क्याबिनेटबाट काउन्सिलको कार्यवाहक अध्यक्ष तोकेका दुर्गा भण्डारी, युवा स्वरोजगारका उपाध्यक्ष रोका लगायत पनि प्रचण्ड र माधव नेपालप्रति छुद्र टिप्पणी गर्दै सामाजिक सन्जाल देखि सार्वजनिक सञ्चारमाध्यमहरुमा लेख लेख्ने पात्रहरु हुन् । 

नेकपाका विवाद समाधानको उपाय सल्टाउन सुझाव दिन भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भएको छ । त्यो कार्यदलले अहिले काम गरिरहेको छ । उनीहरुलाई राजनीतिक नियुक्तिहरु कसरी गर्ने भन्नेमा पनि सुझाव ल्याउन भनिएको छ । तर त्यसको बेवास्ता गर्दै ओलीले नियुक्तिहरु फेरि गर्न थालेपछि ओलीको भूमिका विवादास्पद हुन थालेको हो ।  यसप्रति प्रचण्डले ओलीलाई भेटेरै असहमति जनाएका छन् । मंगलबार र बुधबार दुई पटक ओलीसँग भेट गर्दै प्रचण्डले आपत्ति जनाएका हुन् ।

कार्यदलले एकताका लागि छलफल गरिरहेको छ, प्रतिवेदन नआउँदासम्म विवादास्पद गतिविधि नगर्ने कुरा भएको हो, तपाईं (प्रधानमन्त्री) ले राजनीतिक नियुक्ति गर्दा पार्टीमा सल्लाह गर्छु भन्नुभएकै हो,’ मंगलबार ओलीसँग भेट गर्दा प्रचण्डले भने, ‘हामी सहमतिका लागि भनेर मिहिनेत गरिरहने, तपाईं सहमतिको स्पिरिटभन्दा बाहिर गएर धमाधम राजनीतिक नियुक्ति गरिरहने ? यसरी त सहमति बन्न सक्दैन, झन् भाँडिन्छ ।’

ओलीले भने पहिल्यै तयारी अवस्थामा रहेका नियुक्तिमात्र गरिएको जवाफ प्रचण्डलाई दिएका थिए । तर दाहालले राजनीतिक नियुक्तिको मापदण्ड नै प्रधानमन्त्रीले आफुलाई बदनाम गर्ने पात्रहरु हुनुपर्ने भनी बनाएको देखिएको बताएका थिए  । ‘तपाईंले राजनीतिक नियुक्तिका लागि योग्यता जाँच गर्ने मापदण्ड बनाउनुभएको रैछ, जसले मलाई र माधवजीलाई धेरै निन्दा गर्छ, उसैलाई पुरस्कृत गर्दै हिँड्नुभएको छ, म तपाईंसँग एकदमै निराश छु ।’

प्रचण्डको भनाई थियो । पछिल्लो समय ओलीले गर्न थालेका नियुक्तिकै विवादमा कार्यदल पनि फसेको छ । कार्यदलमा विवादास्पद नियुक्तिहरु बदर गरी नयाँ नियुक्ति गर्नुपर्ने विषय उठेपछि ओली पक्षले मानेको छैन । जसकाकारण कार्यदलमा पनि असमझदारी निम्तेको एक सदस्यले बताए । ओलीले कार्यदल बन्नुअघि अब आइन्दा राजनीतिक नियुक्ति गर्नुपर्दा पार्टीको सहमति लिने प्रतिबद्धता जनाएका थिए ।

सोही आधारमा विवाद समाधानको उपाय खोज्न बनेको कार्यदलले प्रतिवेदन तयार नहुँदासम्म कुनै पनि नियुक्ति तथा विवादास्पद अभिव्यक्ति दिन नहुने समझदारी दुई अध्यक्षका बीचमा भएको थियो । तर ओली आफ्नै बोलीमा अडिन नसकेको भन्दै प्रचण्डले ओलीसँग असन्तुष्टि जनाएका हुन् ।

त्यसो त वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि ओलीले कार्यदल बनेका बेला पनि धमाधम विवादास्पद ब्यक्तिको नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका छन् । ओलीजीले आफ्नो स्वभाव देखाइहाल्नुभयो, यो चालबाजी ठीक लागेको छैन्,’ नेताहरुको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस