सुदूरपश्चिममा बाढीपहिरोका कहर : एकैदिन १० जनाको मृत्यु, १७ बेपत्ता

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १५ : ०१
सुदूरपश्चिममा बाढीपहिरोका कहर : एकैदिन १० जनाको मृत्यु, १७ बेपत्ता

कैलाली । सुदूरपश्चिम प्रदेश यस वर्ष पनि बाढीपहिरोको चपेटामा परेको छ । बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना अझै हराइरहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार अछाममा ६ जना, बझाङ र बाजुरामा २-२ जनाको मृत्यु भएको हो ।

अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार नै बगाएको थियो । उक्त बजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने सोही बजारका १७ जना अझै हराइरहेका छन् । मृत्यु हुने ६ जनाको सनाखत हुन बाँकी छ । 

गाउँपालिकामा नन्दु साउदको परिवारका १० जना सम्पर्कविहीन छन्। । त्यस्तै बारलाका ४० बर्षका लालसरा शाह र उनका १० वर्षका छोरा पनि बेपत्ता भएका छन् । हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद पनि बेपत्ता भएका गाउँपालिकाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार योगेन्द्रसिंह थापाका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुषको शव भेटिएको छ । यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थित कैलाश खोलाको किनारमा भेटिएको छ । अर्का एक व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थीत कैलाश खोला किनारमा भेटिएको हो।

यस्तै एक जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको छ । 

बझाङमा २ जनाको मृत्यु

बुधबारनै बझाङको बुंगल नगरपालिका–५ मिडीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिए ।

पहिरोले स्थानीय पिपला ताम्राकारको घर बगाउँदा उनका छोरा र आफन्तको मृत्यु भएको हो । ४० वर्षकी पिपला, उनकी छोरीहरु १८ वर्षकी छोरी सुनीता र १२ वर्षकी सन्तोषी र छोरा १६ वर्षका अनिल घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ

बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– १ मा मीनबहादुर बुढाको घर पहिरोले पुरिँदा ३ वर्षकी छोरी सुमिका बुढाको मृत्यु भएको छ । उनकै ५ वर्षकी छोरी विनीता, आमा ६५ वर्षकी नन्दादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा २ महिनाको अवधिमा बाढी पहिरोमा परि ६३ जनाको मृत्यु भएको छ ।