चितवन जिल्ला कोरोनाको ‘रेड जोन’मा, बज्यो खतराको घण्टी !

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १३ : ५९
चितवन जिल्ला कोरोनाको ‘रेड जोन’मा, बज्यो खतराको घण्टी !

चितवन । चितवन जिल्ला कोरोना भाइरसको ‘रेड जोन’मा परेको छ । सरकारले २०० कोरोना संक्रमित कटेको जिल्लालाई ‘रेड जोन’भित्र राख्दै आएको छ ।

आइतबार राति १२ बजेको कोरोना रिपोर्टको अपडेटले चितवन जिल्लालाई कोरोनाको रेडजोनमा पारेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २०० संक्रमितको संख्या नाघेको जिल्लालाई रेड जोनमा राखेर विशेष सतर्कता अपनाइने छ ।

चितवन जिल्लामा आजसम्म कोरोना संक्रमितको संख्या २०९ पुगेको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारीअनुसार हालसम्म चितवन जिल्लामा संक्रमितको संख्या २०९ पुगेको छ । संक्रमितको संख्या अझै बढ्ने चिकित्सकहरुको भनाइ छ । 

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हाल भरतपुर अस्पतालमा ४२ जना संक्रमितको उपचार भइरहेको छ । उनका अनुसार हालसम्म भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा १४ जिल्लाका १४ हजार पाँचसय भन्दा बढी नमुना संकलन गरी परीक्षण गरिएको छ ।

चितवनको भरतपुर महानगरपािलकामा मात्र हालसम्म १२८ जना संक्रमित भेटिएका छन् । कालिकामा ५, रत्ननगरमा ९, माडीमा ४१, खैरहनीमा ७, राप्तीमा १८, इच्छाकामनामा एकजना कोरोना संक्रमित भेटिएका छन् । 

हालसम्म भरतपुर अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर ११ का एक जना र कैलालीका एक जना पुरुष संक्रमितको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका संक्रमितको संख्या बढे पनि चितवनमा हालसम्म मृत्युको संख्या बढेको छैन । 

आइतबार राति उपलव्ध भएको कोरोनाको नतिजाको विवरणअनुसार चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ५ सय ६८ वटा नमुनाको परीक्षणमा चितवनका १० सहित ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

एक जना संक्रमित हेटौँडाका हुन् । उनी भरतपुरको आशा अस्पतालमा उपचाररत थिए । आइतबार थप संक्रमितमध्ये तीन जना महिला राप्ती नगरपालिकाका हुन् । उनीहरु क्वारेन्टाइनमा थिए । थप भएका संक्रमित भरतपुरका तीन जना क्वारेन्टाइनका हुन् भने बाँकी चार जना पुरानो मेडिकल कलेजमा उपचाररत् थिए । 

भरतपुर अस्पतालका मेसुसहित ५ जना स्वास्थ्यकर्मी र दुई जना नर्समा संक्रमित भेटिएपछि चितवन जिल्लामा तरङ्ग पैदा भएको थियो । भरतपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ । चितवनमा संक्रमित हुनेको संख्या बढेपछि यतिबेला माडी नगरपालिकाबाहेक ६ पालिकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको अवधि भदौ ५ गते राति १२ बजेसम्म रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस