एजेन्सी । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धान खेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन् ।
आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध, राज्य–नियन्त्रित अर्थतन्त्र र निरन्तर खाद्यान्न अभावको समस्यासँग जुध्दै आएको छ । विगतका वर्षहरूमा प्राकृतिक विपद् र कमजोर कृषि संरचनाले पनि खाद्य उत्पादनमा असर पार्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका उत्तर कोरियासम्बन्धी मानव अधिकार विशेष प्रतिवेदक एलिजाबेथ साल्मोनले फेब्रुअरीमा देशमा खाद्यान्न अभाव प्रमुख मानवीय चुनौती बनेको बताएका थिए । उनका अनुसार पर्याप्त खाद्य उपलब्ध नहुनुले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
प्योङयाङको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले मङ्गलबार देशका विभिन्न क्षेत्रमा सुक्खा खेतमा धान खेती विस्तार भइरहेको जनाएको छ । सामान्यतया धानखेतीका लागि प्रशस्त पानी आवश्यक पर्ने भए पनि यस्तो विधि सिँचाइ सीमित हुँदा वा वर्षामा निर्भर रहँदा प्रयोग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०८३, ११ : ५९
लेखकबाट थप