कोरोना बढेपछि बोलाइयो उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीेको संयुक्त बैठक

उपत्यकाका तीनवटै जिल्लामा गरी अहिलेसम्म ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ६ जनाको निधन भएको छ

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १० : ३९
कोरोना बढेपछि बोलाइयो उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीेको संयुक्त बैठक

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार मात्रै ७६ जना कोरोना संक्रमित ब्यक्ति भेटिए । बुधबार त्यो संख्या अझ बढेर १०२ जनामा देखिएको थियो । झण्डै एक दर्जन संक्रमित ब्यक्तिहरु आफनो सम्र्पक नम्बरहरु नै स्वीचअफ गरेर गुपचुप सम्र्पक बाहिर छन् । लकडाउन हटाइएको घोषणा साउन ७ मा उपत्यकाका तीन ओटै जिल्लामा जम्मा ३ जनामा संक्रमण देखिएको थियो । तर लकडाउन हटाएपछि बढेको भीडभाडका कारण त्यो संख्या बढेर थामीनसक्नु अवस्थामा पुग्न थालेको छ । 

जनघनत्व बढी रहने, भेटघाट बढी हुने जनसम्र्पकमा रहेका ब्यक्तिहरुमा कोरोना देखिएको छ । संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण देखिनु, नेकपा अध्यक्ष प्रचण्डको घरको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीमा पनि कोरोना देखिनु, अख्तियारमा खटिएका सुरक्षाकर्मी, प्रहरी मुख्यालयमा रहेका प्रहरीहरुसम्ममा पनि कोरोना देखिएको छ । यसले उपत्यकामा भित्रभित्रै कोरोना संक्रमणको अवस्था समुदायस्तरमै फैलिइसकेको हुन सक्ने आशंका हुन थालेको छ । अहिलेसम्म काठमाडौं उपत्यका भित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन् ।

४ सय ७२ जना काठमाडौं,  १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन् । तर बढ्दो चाप र भीडभाडका बीचमा उपत्यकाभित्र कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले के गर्ने ? सरकार आफै अलमलमा परेको देखिएको छ ।   उपत्यकामा जोखिम न्यूनीकरण गर्ने र संक्रमण रोक्ने उपायको खोजीमा छलफल गर्न आज काठमाडौं, भक्तपुर र ललितपुर तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको छ । काठमाडौंका प्रमुख जिल्ला अकिारी जनकराज  दाहालले जोखिम रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारीका लागि छलफल गर्न लागिएको बताए । 

अहिले मानिसहरुले आवश्यक सुरक्षा सर्तकता नअपनाउने, सरकारले जारी गरेका निर्देशनहरुको पालना नगर्ने र जोरबिजोर प्रणाली, राती बाहिर नहिड्न गरेको निर्देशन र अत्यावश्यक बाहेक मानिसहरुलाई घर बाहिर नहिड्न गरेको आग्रहलाई अटेर गर्ने परिस्थिती बनिरहे फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने प्रमुख जिल्ला अधिकारी दाहाल बताउँछन् । यी सबै विषयमा आजको बैठकमा  गम्भिर रुपमा समिक्षा गर्ने र थप रणनीति बनाइने उनले बताए । उपत्यका भित्रिने नाकाबाट सबैभन्दा धेरै जोखिम देखिएको र अब यसलाई कसरी व्यवस्थित गर्ने ? थप कहाँ कहाँ सिल गर्ने वा के गर्ने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।

भक्तपुरको नाका साँगा भञ्ज्याङ र काठमाडौंको नाका नागढुंगाबाट आउने व्यक्तिमा कोरोनाको संक्रमण बढी देखिएको छ । गृह मन्त्रालयले बुधवार सुचना जारी गर्दै २ सय भन्दा बढी एक्टिभ केस भएको जिल्लामा जोरबिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी संचालन गर्न निर्देशन दिइसकिएको छ । काठमाडौं उपत्यकाभित्र बिहिबारदेखि जोरबिजोर अनुसार सवारी संचालनमा छन् । सरकारले देशव्यापी रुपमा गरेको लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा पछिल्लो दुई हप्तामा पाँच सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

लकडाउनको अवधिभर उपत्यकामा केवल ३ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, लकडाउन खुलेपछि साउन ७ गते यता बिहीबारसम्ममा उपत्यकामा ५ सय १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनवटै जिल्लामा गरी अहिलेसम्म ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस