प्रधानमन्त्री ओलीलाई भेटेपछि राष्ट्रपतिले किन बोलाइन् चिनियाँ राजदुत ?

बुधबार राती प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राजदुत होउ यान्छीलाई बोलाएर राती साढे १० बजेसम्म छलफल गरेकी छिन्

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, ०९ : ३४
प्रधानमन्त्री ओलीलाई भेटेपछि राष्ट्रपतिले किन बोलाइन् चिनियाँ राजदुत ?

काठमाडौं । नेपालको राजनीतिमा अचेल माइक्रो म्यानेजमेन्टकै तहमा चीन उत्रिन थालेको आरोप लागिरहेको छ । खासगरी सत्तारुढ दल नेकपाभित्रको आन्तरिक रडाँकोमा चीनले गम्भिर चासो देखाउन थालेको आरोप लागिरहेको छ ।  नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको पछिल्ला दौडधुपले पनि ति चासो स्वभाविक अभिब्यक्त हुन्छ ।

अन्य बेला चिनीयाँ राजदुतकै दौडधुप नेकपा नेताहरुको दैलोसम्म पुग्ने गरेको भएपनि बुधबार भने राजदुत यान्छीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफैले बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति निवासबाट झण्डै ३ किलोमटिर मात्र दुरीको निवासमा रहेकी यान्छीलाई राष्ट्रपति भण्डारीले बेलुकी ९ बजेपछि शितल निवासमा बोलाएर भेट गरेकी हुन् । यो भेट यस अर्थमा पनि अर्थपूर्ण छ की, ठिक यान्छीसँग राष्ट्रपतिले भेट गर्नु अगाडी मात्रै प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरेकी थिइन् । चिनियाँ राजदुत यान्छीले गत वैशाखमा नेकपाभित्र विवाद उत्र्कषमा पुग्दै गर्दा पनि आफनो तर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । 

अहिले पनि असार १६ यता नेकपाभित्रको विवाद फेरि बल्झिएपछि उनको दौडधुप शुरु भएको थियो । उनले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन लगायत नेताहरुसँगको भेटघाट एकचरणमा सक्काएर चुपचाप बसेकी थिइन् ।  यी सबै भेटघाटमा उनले नेकपाभित्रको विवादका विषयमा चासो ब्यक्त गरेकी थिइन् । त्यसपछि उनले सबैसँग छोडेको एउटै सन्देश थियो, नेकपा विभाजन हुनुहुन्न । प्रधानमन्त्री फेर्ने, राख्ने तपाईहरुको आन्तरिक मामला भएपनि पार्टीनै विभाजन हुने स्थितीमा भने कुनै कदम नचाल्न राजदुत यान्छीले नेताहरुको ध्यानाकर्षण गराउँदै आएकी थिइन् ।

चीनले नेकपा विभाजन भएमा त्यसले नेपालको ब्यवस्थाभित्र पनि संकट आईलाग्न सक्ने र त्यसको असर तिब्बत मामिलालाई लिएर नेपालमार्फत चीनलाई पनि असर गर्न सक्ने बुझाईमा नेकपा टुटफुटबाट जोगिनु पर्ने बुझाईमा छ ।ओलीप्रति चीनले उदारभाव राखेको, ओलीलाई नै सत्तामा टिकाउन चाहेको भन्दा पनि पात्र परिवर्तनमा चीनको खास चासो नभएपनि पार्टी मात्र विभाजन नहोस् भन्नेमा नेताहरुलाई ध्यानाकर्षण गराउने काम चीनले गर्दै आएको चिनियाँ राजदुतले भेटेका नेकपाका नेताहरुको अभिब्यक्ति सुन्दा बुझिन्थे । तर यसको अप्रत्यक्ष फाइदा ओलीले पाएका थिए ।

ओलीले पार्टीभित्रको विवाद चर्किदै जाँदा कहिले पार्टी विभाजन सजिलो हुने गरी अध्यादेश अगाडी बढाउने, कहिले पूर्व एमाले नामको पार्टी आफ्नै सक्रियतामा निर्वाचन आयोगमा दर्ताका लागि पठाउने र कहिले संसद विघटन, राष्ट्रपति शासन लगाउने जस्ता तयारी गरेको प्रचार ब्यापक रुपमा गराउने गरी पार्टी विभाजन हुन सक्ने मनोवैज्ञानिक सन्देश दिईरहेका थिए । कतै ओलीले आफनो संकट टार्न पार्टी विभाजन नै पो गर्ने हो की ? भन्ने भयबाट नेकपा नेताहरु चिन्तित भईरहदा चिनियाँ पक्षले पनि नेकपा फुट्ने हो भने रोक्न प्रयास गर्ने गरी भित्री रणनीति तय गरेको देखिन्छ । त्यही प्रयोजनमा राजदुत यान्छीको नेताहरुसँगको दौडधुप बाक्लिएको थियो । 

झण्डै विभाजनको तहमै पुगेको भनिएको विवाद फेरि केही समय सुसुप्त रुपमा उठेको र विवाद भएपनि पार्टी नै नफुटने त्यसपछि नेकपा नेताहरुले अभिब्यक्ति दिन थालेका थिए । तर फेरि पछिल्ला गतिविधि ओलीको अहंम र अलंकारले नेकपा विभाजन उन्मुख नै देखिन थालिरहेको छ । राजदुत यान्छीले नेताहरुसँग ओलीको सत्ता बचाउने लविङ नगरेपनि नेकपा फुटन नदिन गरेको आग्रहले ओलीलाई फाइदा नै पुगेको थियो भने ओली इतर नेताहरुमाथी दबाब बढेको थियो । यही बुझेर होला, राष्ट्रपति भण्डारीले राजदुत यान्छीसँग बुधबार राती निवास बोलाएर नेकपा नेताहरुलाई सल्लाह दिइदिन आग्रह गरेको स्रोतले बताएको छ ।

ओलीले अप्रत्यक्ष नेताहरुमाथी दबाब बढाउनु पर्ने राष्ट्रपति भण्डारीसँग छलफल गरेपछि राष्ट्रपतिले त्यस्तो दबाब चिनियाँ राजदुतमार्फत बढाउन खोजेको हुनसक्ने अनुमान अहिले लगाउन थालिएको छ । बुधबार यता दुई अध्यक्षको बीचमा छलफल हुन सकेको छैन् । बुधबार नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले थापाँगाउस्थित प्रेसिडेन्टल कलेजमा पार्टीभित्र किन विवाद भयो ? आफुहरुले उठाएका विषय के हुन् भन्ने विषयमा सञ्चारकर्मी बोलाएर अन्र्तक्रिया गरेपछि ओली थप दबाबमा परेका थिए । त्यसपछि नै उनले पनि आफु निकट महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बोलाएर छलफल गरेका थिए । 

त्यसपछि प्रधानमनत्री ओली राती ८ बजे राष्ट्रपति भण्डारीसँग भेट गर्न पुगेका थिए । प्रधानमन्त्रीले राष्ट्रपतिसँग झण्डै १ घण्टा भेटेर फर्केपछि राजुत यान्छीलाई बोलाएर राष्ट्रपतिले राती नै भेट गरेकी थिइन् । यो भेटलाई राष्ट्रपति कार्यालय र चिनियाँ राजदुतावासले पनि असाध्यै गोप्य राखेको छ । भण्डारीले ओलीको सत्ता टिकाउनका लागि राजदुत यान्छीको कानमा नेकपा विभाजन उन्मुख गतिमै अगाडी बढेको र त्यो विभाजन रोक्न ओलीमाथी पार्टी नेताहरुले बढाईरहेको दबाब रोक्नुपर्ने र प्रचण्ड लगायत नेताहरु अडानबाट पछि हटनुपर्ने , त्यसो हँुदा मात्र पार्टी एकता अक्षुग्ण राख्न सकिने सन्देश पु¥याएकी छिन् । 

यो सन्देश राजदुत यान्छीको कानमा पु¥याएपछि अप्रत्यक्ष चिनियाँ पक्षको दबाब ओली इतर समुहका नेताहरुमा पुग्ने ठानेर राष्ट्रपति भण्डारीले राजदुत यान्छीलाई रातको समयमा प्रधानमन्त्रीसँग भेट गरेपछि बोलाएर सन्देश दिन खोजेकी हुन सक्ने शितल निवास स्रोतले बताएको छ । राजदुत यान्छी राष्ट्रपति भण्डारीसँगको झण्डै ढेड घण्टाको छलफल गरेर निवास फर्केकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस