हरिबोलले किन दिए प्रचण्डलाई त्यस्तो सुझाव ?

नेकपाकै कतिपय नेताहरु भन्छन्, हरिबोलमा आत्मसर्मपणवादी चिन्तन देखिन थाल्यो

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, ०९ : ३६
हरिबोलले किन दिए प्रचण्डलाई त्यस्तो सुझाव ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत वैशाख ८ मा पार्टीसँग कुनै सरसल्लाह नै नगरी कोरोना महाव्याधीमा मुलुक लकडाउनमा रहेका बेला एकाएक राजनीतिक दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याए । उनले अर्काे अध्यादेश पनि सँगै ल्याएका थिए, सम्वैधानिक परिषद्को काम कर्तव्य र अधिकारका विषयमा प्रमुख प्रतिपक्ष विहिन अवस्थामा पनि निर्णय लिन सक्ने । 

यी दुई अध्यादेशमा पनि मुख्यतः ओलीले दल विभाजन पार्टीभित्र आफनो संकट टार्न र आवश्यक परे आफैले पार्टी फोड्ने योजनाका साथ ल्याएका थिए । सुन्दा अचम्म मान्नुहोला, त्यसवेला नेकपाका एक जना स्थायी समिति सदस्य हरिबोल गजुरेलले ओलीले पार्टी फुटाइसकेको सार्वजनिक अभिब्यक्ति दिएका थिए । ओलीले अध्यादेश ल्याएपछि पर्सिपल्टै उनै गजुरेल सहितका २० जना नेकपाका स्थायी समिति सदस्यहरुले बैठक अव्हान गर्दै दुवै अध्यक्षलाई लिखित प्रस्ताव गरेका थिए । त्यसैका आधारमा बैठक माग गर्दा प्रधानमन्त्री ओली पन्छिदै आएका थिए ।

अन्ततः बाध्य भएर १० असारवाट पार्टी स्थायी समिति बैठक त बोलाइयो, तर पनि फेरि ओलीको अनिच्छाकै कारण बैठक अवरुद्द हुदै आएको छ । १० वैशाखमा प्रधानमन्त्रीले नेकपा फुटाइसकेको अभिब्यक्ति दिएका हरिबोल गजुरेलेको अभिब्यक्ति नेकपाभित्र निक्कै कडा टिप्पणीका रुपमा लिइन्थ्यो । नेकपाभित्रको राजनीति त्यसयता कुनै फेरबदल छैन् । दिनप्रतिदिन ओलीको स्वेच्छाचारिता घटेको छैन् । झन ओलीमा अंहकार बढेको छ । पार्टी फोड्ने नियतमै प्रधानमन्त्री ओलीकै सक्रियतामा गत असार १४ मा निर्वाचन आयोगमा एमाले नाममा पार्टी दर्ता सम्म गर्न निवेदन सम्म परेको छ । ओलीका कारण नेकपा र सरकार दुवै निक्कै आलोचित भएको छ ।

यही सरकार र ओली नेतृत्व कायम राख्ने हो भने आउने चुनावमा नेकपालाई निक्कै ठूलो चोट लाग्ने संकेत देखा परिसकेको छ । तर पनि बरु पार्टी , सरकार र देश समेत भाडमा जाओस, आफुले कुनै त्याग नगर्ने अहंकारी अडानमा प्रधानमन्त्री ओली छन् । उनकै कारण नेकपा मात्र होइन, सिंगो देश नै एकप्रकारले बन्धकको अवस्थामा पुगेको छ । कुनै बेला ओलीले पार्टी विभाजन गरेको अभिब्यक्ति दिने तिनै गजुरेल अहिले भने नयाँ प्रस्ताव बोकेर फेरि आउन थालेका छन् । अहिले पार्टी विभाजन रोक्न प्रचण्डले नै त्याग गर्ने प्रस्ताव गजुरेलले अगाडी सारेका छन् । त्यसका लागि उनले पार्टी फुटबाट जोगाउन पार्टीका अध्यक्ष प्रचण्डलाई पदबाट राजीनामा दिन सल्लाह दिएको सार्वजनिक रुपमा बताएका छन् ।

पार्टीका अन्य नेताहरु ओलीको राजीनामा माग गरिरहेका बेला गजुरेलले भने प्रचण्डलाई नै किन राजीनामा दिन सल्लाह दिए ? अहिले नेकपाभित्र निक्कै अर्थपूर्ण रुपमा उनको अभिब्यक्तिलाई लिन थालिएको छ ।  प्रधानमन्त्री ओलीले सहमतिमा महाधिवशेन गर्ने कुरा सार्वजनिक रुपमा अभिब्यक्त गरिसकेका कारण आफुले ओलीलाई हटाउन नहुने तर्क राखेको र त्यसका लागि आवश्यक परे प्रचण्डलाई अध्यक्षबाट राजीनामा दिन सुझाएको बताए । ‘मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता बचाउन र गतिरोध तोड्न अन्तिम अस्त्रको रूपमा राजीनामा दिनुपर्ने सुझाव दिएको थिएँ ।

पछि पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूको भेलामा पनि उहाँ (प्रचण्ड)ले केही उपाय लागेन भने हरिबोलजीले दिएको सुझाव प्रयोग गर्छु भन्नुभाथ्यो,’गजुरेलले सफलखबरसँग भने,–‘आलोपालो त्यागेर कार्यकारी अध्यक्ष स्वीकारेको तर त्यो भूमिका पनि नदिँदा दुवै पद तपाइँनै चलाउनोस् भनेर प्रचण्डले त्यसो गरेको भए प्रधानमन्त्री केपी ओलीले गम्भीर रूपमा सोच्न बाध्य हुनुपर्दथ्यो ।’  गजुरेलले १३ साउनमा प्रधानमन्त्री ओलीले पार्टी बैठक एकतर्फी रोकेपछि प्रचण्डले लौ तपाई नै चलाउनुस् भनेर राजीनामा दिएको भए पार्टीभित्रको विवादमा राम्रो निकास निस्कने र ओलीमाथी पनि निक्कै ठूलो दबाब पर्ने अवस्था सिर्जना हुने गजुरेलको भनाई थियो ।

प्रचण्डका निकट नेताका रुपमा चिनिदै आएका गजुरेलले किन प्रचण्डलाई नै बरु अध्यक्ष छोडेर राजीनामा दिन सुझाए ? यसभित्रको गुह्य कुरा खुल्न सकेको छैन् । के उनी ओलीतिर ढल्किसकेका हुन् ? अहिले नेकपामा यो चर्चा पनि उत्तिकै छ । तर उनी आफुले प्रचण्डलाई सहयोग गर्न नै त्यस्तो प्रस्ताव अगाडी सारेको तर्क गर्छन ।  ‘कहिले काँही पछि हटेर पनि पहलकदमी आफनो हातमा आउँछ । मैले त्यही अनुसार प्रचण्ड कमरेडलाई नै बरु राजीनामा दिनुस भनेको हुँ’, गजुरेलले भने ।  

परिस्थितिअनुसार कुनै बेला पछि हटेर पनि पहल आफ्नो हातमा आउने भन्दै उनले विगतमा पनि माओवादीले युद्धकै बेला यस्तो प्रयोग गरिसकेको र त्यसो गर्दा पहलकदमी आफनो हातमा आएको पनि गजुरेलले बताए । तर गजुरेलको अभिब्यक्ति त्यस्तो बेला सार्वजनिक भएको छ, जबकी उनले ओलीसँग निरन्तर छलफल गरिरहेका छन । ओलीले पनि गजुरेललाई उत्तिनै महत्व दिएर छलफलमा बोलाइरहेका छन् । गजुरेल ओलीको पहिलो क्याबिनेटमा कृषि मन्त्री भएका थिए । धेरैले गजुरेलको अभिव्यक्ति लालसको अभिब्यक्तिका रुपमा लिन थालेका छन् । 

‘कमजोरी गर्ने एउटा, कसैलाई नगन्ने एउटा, अहंकारी र आफु बाहेक अरु सबै दास र रैती हुन भन्ने ठान्ने एउटा, विधि पद्दती केही मतलवै नगर्ने, आफै पार्टी, आफै सवै थोक हुँ भन्ने प्रवृत्तिका विरुद्ध लड्नु पर्नेमा उल्टै ओलीको स्वेच्छाचारीता र अहंकारी प्रवृत्तिका विरुद्द लड्नुपर्नेमा हरिबोल जीको प्रचण्डलाई नै राजीनामा दिनु भन्दै किन त्यस्तो प्रस्ताव आयो, अचम्मित पार्ने खालको छ,’ नेकपाका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने, –‘पार्टी एकताका नाममा ओलीको मनोमानी स्वीकार्ने आत्मसर्मपण वादी सोच भयो हरिबोल जीको ।

त्यसले भोलिका दिनमा पनि कसैले म विधि मान्दिन, म नै सर्वाेसर्वा हुँ भन्यो भने कसरी विधि पद्दती अनुसार काममा ल्याउने ? घमण्डी, हेपाहा, अहंकारी, विधि मिच्ने र अनुशासन नमान्ने ओलीलाई तपाई नै सर्वे हो हजुर हजुर महान भने जस्तो हरिवोल जीको लाइन देखियो । यो ठिक लाइन होइन ।’ कतिपयले हरिबोलको यो विचारभित्र सत्ता स्वार्थ मुखरित भएको पनि बताउन थालेका छन् ।

ओलीले उनलाई सरकारमा ल्याउने गरी आश्वासन बाँडेको हुन सक्ने ठानेका छन् । आफ्नो संकट टरेमा ओलीले गर्ने क्याविनेट पूर्नगठनमा महत्वपूर्ण मन्त्रालयको जिम्मा लिन उनले यो खालको प्रस्ताव ल्याएर ओलीको राजीनामामा केन्द्रीत नेकपाभित्रको बहसलाई विषयान्तर गर्न खोजिएको अर्थमा पनि लिन थालेका छन् । गजुरेलेको यस्तो प्रस्ताव अखिर किन ? अझै रहस्यमै छ । यस बारेमा केही समयपछि नै पर्दा खुल्ने अनुमान नेकपा नेताहरुको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस