मलेसियामा नेपालीद्वारा नेपालीलाई नै कुटिएको दूतावासको भनाइ

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १७ : ५३
मलेसियामा नेपालीद्वारा नेपालीलाई नै कुटिएको दूतावासको भनाइ

काठमाडौं । मलेसियामा एक नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जालमार्फत केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 

भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुवैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो । 
 दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । 

‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्’ दूतावासको विज्ञप्तिमा भनिएको छ । मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ ।