खुल्यो बेँसीशहर–चामे सडक : जोखिम कायमै

रासस

शनिबार, १७ साउन २०७७, २० : ४१
खुल्यो बेँसीशहर–चामे सडक : जोखिम कायमै

फाइल तस्विर

काठमाडौं । अविरल वर्षाले पहिरो जाँदा करिब दुई सातादेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा आएको छ ।  करिव ६५ किलोमिटरको लमजुङ–मनाङ जोड्ने सोे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो आज साँझ  पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

यही साउन ४ गते पहिरो जाँदा यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभिर, स्यागे, च्याम्चे, त्यस्तै मनाङको नासों गाउँपालिकाको म्यार्दी र तालडाँडालगायतका स्थानमा गएको पहिरोले सडक अवरुद्ध बनाउँदै आएको थियो । यीमध्ये केही पहिरो केही दिनमा हटाए पनि पहिरो हटाउन समय लागेको लमजुङतर्फको मस्र्याङ्दी गाउँपालिकामा पर्ने च्याम्चे र मनाङको नासों गाउँपालिकास्थित म्यार्दी र तालडाँडाको पहिरो हटाएसँगै यतिबेला सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जीनियर सुमन अधिकारीले जानकारी दिनुभयो ।

यस सडकखण्डको म्यार्दी र तालडाँडामा गएको पहिरो कार्यालयको एक्साभेक्टरले पन्छाउन नसकेपछि चामे  र नासों गाउँपालिकाले संयुक्तरूपमा आठवटा ब्लास्टिङ गरेर सो स्थानमा पहिरो हटाउन सफल भएको उहाँको भनाइ छ । यसबाहेकका अन्य पहिरो भने एक्साभेक्टरको माध्यमबाट करिब दुई सातादेखिको लगातारको प्रयासबाट हटाउन सफल भएको कार्यालयले जनाएको छ । 

बेँसीशहर–चामे सडकमा करिब दुई साताबाट सवारी सञ्चालन हुन नसक्दा  यात्रु निकै मर्कामा पर्दै आएका थिए । खाद्यान्नदेखि विभिन्न निर्माण सामग्रीका सवारी साधन सञ्चालनमा आएका छन् ।  सडकमा पहिरो हटे पनि समस्या भने हट्न सकेको छैन । वर्षायाम भएकाले विभिन्न बेलामा आएको बाढीपहिरोले सडक जीर्ण बनाएको छ । यस सडकको दर्जनौँ स्थानमा जोखिम कायमै छ । 

सडक साँघुरो हुनुका साथै विभिन्न स्थानमा सडक भत्किएको तथा सानासाना पहिरो गइरहेका छन् । सडकमा यात्रा भने सहज  भइसकेको छैन । यस सडकमा अहिलेको मात्र समस्या नभई वर्षौँदेखिको समस्या हो । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्यालले विसं २०५१ बाट सडक निर्माण गरेको थियो । विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो ।

 सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । सडक सञ्चालनमा आएयता वर्षेनी बर्खायाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ । यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि एक हजार मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ । वर्षेनी सरकारले करोडौँ रकम खर्च गर्दै आए पनि सडकको गुणस्तर भने हालसम्म पनि हुन नसक्दा जोखिमपूर्ण यात्र गर्न यात्रुहरु बाध्य हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस