अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु

एजेन्सी

बुधबार, १९ कार्तिक २०८२, १० : ५३
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। 

केन्टकीका गभर्नर एन्डी वेशियरले कम्तीमा सात जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताएका छन्। उनले अनुसन्धान जारी रहँदा यो संख्या बढ्न सक्ने चेतावनी दिएका छन्। 

वेशियरले यसअघि नै केही घाइतेहरूको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको उल्लेख गरेका थिए। लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले मंगलबार साँझ एक्समा ट्वीट गर्दै सहरका हरेक आपतकालीन एजेन्सीहरू घटनास्थलमा परिचालन भएको जानकारी दिएका छन्।

विमानमा करिब ३८ हजार ग्यालेन इन्धन रहेकोले दुर्घटनापछि ठुलो विस्फोट भएको थियो र नजिकैका व्यापारिक भवनहरूमा पनि आगो लागेको थियो। यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्यहरू सवार थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ।

गभर्नर वेशियरले पनि विमानमा रहेका चालक दलको अवस्था अनिश्चित रहेको र प्रभावित परिवारहरूसम्म जतिसक्दो चाँडो पुग्ने प्रयास भइरहेको बताए। उनले भने, ‘यो दुर्घटना कत्तिको भयानक थियो भन्ने भिडियोमा र तस्वीरहरूमा देखिएको छ।’

सीएनएनका अनुसार यस दुर्घटनाले व्यापारिक प्रतिष्ठानहरू र सडकहरूमा आगो लागेको छ, जहाँबाट कालो बाक्लो धुवाँको मुस्लो टाढासम्म फैलिएको देखिन्छ।

यूपीएस फ्लाइट २९७६ को दुर्घटनाबारे संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेका छन्। एफएएले एनटीएसबीले अनुसन्धानको नेतृत्व गर्ने मंगलबार जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस