नागपोखरीमा माधव र वामदेव बिच गोप्य भेट

प्रधानमन्त्री ओलीका विषयमा अब निर्णायक कदम उठाउन प्रचण्डलाई थप दबाब बढाउने रणनीतिका विषयमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, ०९ : १२
नागपोखरीमा माधव र वामदेव बिच गोप्य भेट

काठमाडौं । नेकपाभित्र गत १६ असारबाट मडारिएको राजनीतिक कलहले कुन मोड लिएर टुंगिन्छ भन्ने नेताहरुनै अहिले बताउन सकिरहेका छैनन् । पार्टीभित्रका मुख्य तीन शक्ति समुह प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल तीनै पक्ष एक अर्काेमा शंका र आशंकाले हेर्ने तहसम्म पुगेका छन् । 

सहकार्य र सम्बन्धका हिसाबले ओलीको राजीनामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुले संयुक्तरुपमा मोर्चाबन्दी नै गरेर माग गरिरहेका छन् । तर त्यही बीच ओलीले अर्ली महाधिवशेनको प्रस्ताव अगाडी सारेपछि विवाद थप अर्काे मोडतिर मोडिएको छ । आफुविरुद्ध मोर्चाबन्दीमा रहेका नेताहरुमा शंका, आशंका बल्झाउने काम ओलीले गरिदिएका छन् । 

जसकाकारण तीन दिन यता प्रचण्ड र नेपाल समुहले स्थायी समिति सदस्यहरुको सामुहिक छलफल चलाउन गरेको प्रयास पनि सफल हुन सकिरहेको छैन् । माधव नेपाल पक्षले खासगरी गत शनिबारको सचिवालय बैठक पछि प्रचण्डको भूमिका अब ओलीसँगको सहकार्य की आफुसँगको सहकार्य भन्नेमा प्रश्न उठाएका छन् । ओली पक्षका नेताहरु पनि अब प्रचण्डको भूमिका आफ्नो तिर की माधव नेपालसँगको सहकार्यतिर भन्ने प्रश्न उठाईरहेको छ । 

प्रचण्ड र उनका समुहका नेताहरु भने पार्टी एकताको टुंगो नलागेको कारण एकता प्रक्रिया टुंग्याउन ओली तिर तर पार्टीको विधि विधान र पद्दतीको मुद्दामा माधव नेपालसँग सहकार्यको अवस्थामा आईपुगेको छ । झण्डै झण्डै पार्टीका हरेक कमिटिमा अल्पमतमा परिसकेका ओलीले फयाँकेको नयाँ अस्त्रपछि सचिवालयका सदस्यहरु उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापा (बादल) कहिले ओली, कहिले प्रचण्ड तिर ढल्किरहदा पनि नेकपाभित्रको विवादले निकास निस्कन सकिरहेको छैन् । त्यही क्रममा वरिष्ठ नेता नेपालले उपाध्यक्ष वामदेव गौतमसँग नागपोखरीमा हिजो बिहिबार भेटि झण्डै दुई घण्टा गोप्य छलफल गरेका छन् । 

नागपोखरीमा उपाध्यक्ष गौतमका छोरा हरिसको अफिस छ । जँहा गौतम दिनँहु जाने गर्छन । दिउँसो देखि साँझ सम्म त्यही बसेर आफ्ना भेटघाट र अन्य गतिविधि गर्दै आईरहेका छन् । त्यही नेपालले गौतमलाई गएर हिजो दुई घण्टा लामो भेटघाट गरेका छन् ।  उपाध्यक्ष गौतम अहिले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्ने पक्षमा देखिएपनि ओलीले फँ्याकेको राष्ट्रियताको मुद्दाका कारण केही समय पर्खेर हटाउनु पर्ने पक्षमा छन् । तर नेपाल अहिलेको जारी स्थायी समिति बैठकबाटै यस विषयमा छिनोफानो लगाउनु पर्ने पक्षमा छन् । 

गौतमले समय लिनुपर्ने र बादलले सकभर ओली र प्रचण्डका बीचमा सहमतिको विन्दु खोज्नुपर्ने अडान लिएका कारण नेकपाभित्र ओलीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट मागिएको राजीनामाको विषयले यही नै मोड लिन्छ भन्ने टुंगो लागेको छैन । त्यही बीच माधव नेपालले गौतमलाई उनकै छोराको अफिसमा पुगेर गोप्य भेटवार्ता गरेका हुन् । दिनदिनै नेपाल र गौतमका बीचमा कहिले दाहाल निवास कहिले कता भेटघाट भईरहेको छ । तर गौतमका छोरा हरिसको अफिसमै पुगेर नेपालले गौतमसँग किन भेटे ? त्यो भने रहस्य खुल्न सकेको छैन् । 

जतिसुकै शंकाको लाभले हेरेपनि महाधिवशेन सम्म प्रचण्डसँग नै सहकार्य गरेर जाने र अहिले पार्टीभित्र उठेको समस्याको समाधान अब ओलीले नै निकास दिनुपर्ने पक्षमा उभिएको नेपाल पक्षले गौतमलाई महत्व दिएर नागपोखरीमा गरेको भेट निक्कै अर्थपूर्ण भएको नेपाल निकटका एक स्थायी समिति सदस्य बताउँछन् । नेपाल पक्ष अब साउन १३ गतेबाट भने वैठक नलम्ब्याई एउटा निकास तिर जानुपर्ने पक्षमा उभिएको छ ।

गौतमलाई पनि नेपाल पक्षले अहिले नै प्रधानमन्त्री ओलीका विषयमा निर्णय गरेर जानुपर्ने र त्यसका लागि दुई नेताले नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मलाई साथमै लिएर प्रचण्डमाथी ओलीका विषयमा छिटो निर्णय प्रक्रियामा पुग्न दबाब बढाउने विषयमा छलफल गरेको नेपाल निकट स्रोत बँताउछ । यद्यपी, त्यस छलफलमा भएका थप कुराकानी के भए भन्ने अझै खुल्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस