विपद् व्यवस्थापनः स्थानीय तहको छैन पूर्वतयारी

रासस

बुधबार, ०७ साउन २०७७, १९ : २४
विपद् व्यवस्थापनः स्थानीय तहको छैन पूर्वतयारी

फाइल तस्विर

काठमाडौं । भनिन्छ, ‘विपत्ति बाजा बजाएर आउँदैन ।’ र त समाजमा हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोरकारवाला र स्वयम् आम नागरिकले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिन सके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ । तर, असार महिना सकिएर दैनिकजसो भारी वर्षा भइरहँदा पनि जिल्लामा विपद् पूर्वको तयारी यथेष्ट रुपमा हुन नसकेको गुनासो छ ।

जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण वा सचेतता, सहयोग, विपत्त वा भवितव्यमा उद्धारका लागि  जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न सकेका छैनन् । असारको मध्यदेखि अविरल परेको वर्षासँगै आएको बाढी पहिरोले छिमेकी जिल्ला म्याग्दीमा बितण्डा मच्चाइसक्यो । त्यहाँ ३२ बढी नागरिकको ज्यान गएको छ । सौभाग्यवश बागलुङमा यसपटक काठेखोला गाउँपालिका–४ फापरखेतमा घर पुरिँदा एक महिलाको ज्यान जानेबाहेक अरू विपत्तिको अप्रिय घटना भएको छैन ।  

जिल्ला प्रशासन कार्यालयमा गत साता मात्र जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठक भएको थियो । त्यस बैठकले विपद्का घटना न्यूनीकरणका लागि सबै स्थानीय तहमा क्विक रेस्पोन्स टिम गठन गर्ने, जोखिमयुक्त बस्तीको पहिचान गर्नेलगायतको निर्णय गरेको थियो । तर अधिकांश स्थानीय तह यसबारे बेखबर देखिएका छन् । फलस्वरुप तत्काल जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र निर्देशन कार्यान्वयनमा आउने सम्भावना न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकाय तथा जिल्ला समन्वय समितिको गत असार २८ गते बसेको संयुक्त बैठकले प्रत्येक स्थानीय तहमा क्विक रेस्पोन्स टिम गठन गर्न भने पनि हालसम्म कुनै पनि तहमा गठन हुनसकेको छैन ।  

बागलुङका सबैजसो स्थानीय तहमा विपद् व्यवस्थापन समिति भए पनि पूर्वतयारी फितलो देखिँदै आएको छ । बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनका लागि खानेपानीको पाइप, ग्याबिन जाली वितरण गरेको बताए पनि क्विक रेस्पोन्स टिम गठन गर्न नसकेको सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । सामान्य तयारी रहेको र विपद् व्यवस्थापन समितिमार्फत नै काम गर्ने योजनामा रहेको उहाँको भनाइ छ । 

गलकोट नगरपालिकाका विपद् व्यस्थापन समितिका संयोजक वीरजङ्ग भण्डारीले क्विक रेस्पोन्स टिमको विषयमा जानकारी नभएको बताउनुभयो । नगर प्रमुखको नेतृत्वमै विपद् व्यवस्थापनसम्बन्धी धेरै काम हुने गरेको भन्दै विषयगत समितिअन्र्तगत मात्र विपद् व्यवस्थापन समिति रहेको जानकारी दिनुभयो । अघिल्लो वर्ष गलकोटको दुदिलाभाटीमा आएको बाढीले ठूलो नोक्सानी पु¥याएपछि मात्रै विपद् व्यवस्थापन कोष बनाउन थालिएको थियो । 

जिल्लाको काठेखोला गाउँपालिकाले एक वर्षलाई विपद् व्यवस्थापनका लागि रु २४ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो । उहाँले क्विक रेस्पोन्स टिम गठन गर्ने तयारीमा रहेको बताउनुभयो । आवश्यक पर्दा तदारुकताका साथ सडक खुलाउन तथा बाढी पहिरा नियन्त्रणमा लाग्ने उहाँको भनाइ छ । 

विपद् व्यवस्थापनका लागि प्रहरी कार्यालयसँगको सहकार्यमा तयारी थालेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाका केही जोखिमयुक्त बस्तीको पहिचान गरी जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उहाँको भनाइ छ । सम्भावित विपद् रोक्न पूर्वतयारीका लागि  विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाइने उहाँले बताउनुभयो । अरू स्थानीय तहको पनि प्रभावकारी विपद् पूर्ववत योजना छैन । 

बागलुङ जिल्ला प्रशासनले लाइफ लाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालिगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काइभेटर, एम्बुलेन्स, दमकललगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ । 

प्रशासन कार्यालयका तर्फबाट विपद् व्यवस्थापन समितिको निर्णयानुसार सबै स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक तयारी तथा क्विक रेस्पोन्स टिम गठनलगायतको पूर्ववत योजनाका लागि पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयल बागलुङका प्रशासकीय अधिकृत सूचना अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो । “अघिल्लो साता जिल्लामा सम्भावित विपद्का घटना रोक्न आवश्यक पहल र निर्णयसहित पत्राचार गरिएको हो, केही ढिलो भएको होला” सूचना अधिकारी पन्तले भन्नुभयो “सङ्घीय अभ्यासमा स्थानीय सरकारको बढी अधिकार र दायित्व हुन्छ । यसमा प्रशासन कार्यालयका तर्फबाट आवश्यक पहल, समन्वय र सहयोगमा हामी कुनै कसर बाँकी राख्दैनौँ ।” 

बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्थानीय तहको समन्वयबिना काम गर्न नसकिने भन्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउनुभयो । यसका लागि आफ्ना मातहतका निकायलाई एलर्ट अवस्थामा राखिएको प्रजिअ न्यौपानेले बताउनुभयो । आफू नयाँ भएकाले यसको यथेष्ट तयारीका बारेमा केही बुझ्न बाँकी रहे पनि विपद् पूर्वको योजना र व्यवस्थापनका लागि प्रशासनका तर्फबाट आवश्यक पहल र समन्वय गरिने उहाँको भनाइ छ । 

अहिले लगातारको वर्षातले विभिन्न जिल्लामा बाढी पहिरा तथा ठूलो जनधनको क्षति पु¥याएको छ । बागलुङमा समेत केही घर बगाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरसमेत पटक पटक अवरुद्ध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस