बाढीपहिरोले देशव्यापी क्षति

पत्रपत्रिकाबाट

बुधबार, ०७ साउन २०७७, ०७ : ०३
बाढीपहिरोले देशव्यापी क्षति

काठमाडौं । भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न ठाउँमा जनधनको क्षति पुगेको छ। संघीय राजधानी रहेको काठमाडौं उपत्यकाकै धेरै स्थान जलमग्न भएका छन्। बागमती, धोबी, विष्णुमती, बल्खुलगायत खोलाको बाढीले आसपासका बस्ती डुबानमा परेका छन्।

काठमाडौंमै पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा सोमबार राति २२ वर्षीय नवराज गुरुङको मृत्यु भयो। टोखा नगरपालिका–१ मा मंगलबार दिउँसो पहिरोले टहरो पुरिँदा धनकुटा घर भएका रामकुमार रानामगरका छोरा सचिन र छोरी सन्ध्याको ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। टहरोमा रहेका १० मध्ये ८ जनाले भागेर ज्यान जोगाएका छन्।

यस्तै, धादिङको त्रिपुरासुन्दरी–६ आगिन्चोकमा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन्।  पहिरोमा परेर सोमबार राति दार्चुलामा २ जनाको मृत्यु भएको छ। बाढीपहिरोका घटना थुप्रै भएका छन्। त्यस क्रममा कतिपय बेपत्ता भएका छन्। मुख्य सडकहरू नै ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्। कतिपय ठाउँमा बाढी बस्तीमा छिरेपछि स्थानीय विस्थापित भएका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। आजको अन्नपूर्णपोस्टमा खबर छ ।