क्षमताभन्दा तेब्बर कैदीबन्दी, जीर्ण भवन भत्किने त्रास

रासस

मंगलबार, ०६ साउन २०७७, १२ : ३२
क्षमताभन्दा तेब्बर कैदीबन्दी, जीर्ण भवन भत्किने त्रास

लमजुङ । लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् । 

विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरुष रहेका छन् । महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन् । सोहीमध्ये ३२ जना कैदी पुरुष र छ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरुष रहेको जिल्ला कारागारले जनाएको छ । 

कारागारका जेलर विष्णुप्रसाद पौडेलले भने, “यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानूनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाको लागि मात्रै उपयुक्त देखिन्छ । पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुजार्न निकै सास्ती भएको कैदीबन्दी बताउँछन् । 

गर्मीले सास्ती बनाउनुका साथैै बर्खायाममा परेको यतिबेलाको वर्षाले कारागारको भित्ता रसाएर ओछ्यानमै छिर्ने गर्नाले समेत सुत्न निकै कठिनाइ भइरहेको करिब आठ वर्षदेखि कैद सजय भोक्दै आएका मानबहादुर परियारले बताए । त्यति मात्र नभई, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कति बेला भत्किएर ज्यान लिन्छ कि भन्ने त्रासैत्रासमा दिनरात बिताउँदै आएको कैदीबन्दीको भनाइ छ । 

गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत् हुने गरेको छ । धेरै जना कैदीबन्दी भएकाले शौचायलय जानलाई समेत पालो कुरेर बस्नुपर्ने त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको आठ वर्षदेखि कैद सजाय भोग्दै आएका जीतबहादुर अधिकारीको भनाइ छ । कोरोनाको महामारीको त्रासमा समेत सामाजिक दूरी कायम गरी सुत्न नपाएकाले कोरोना सङ्क्रमणको जोखिम रहेको कैदीबन्दीले बताएका छन् ।

सम्बन्धित निकायबाट यस कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर २०७४ सालमा माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ ।

विसं २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेँसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको यस कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन । थप व्यवस्थित, कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुनुका साथै जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस