भारत छिरे जेलबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, १९ : ०१
भारत छिरे जेलबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी

काठमाडौँ। जेन जेड समूहले गरेको आन्दोलनक्रममा भदौ २४ गते काठमाडौँका विभिन्न जेलमा रहेका १० भारतीय र १ बंगलादेशी नागरिक भारत छिरेका छन् । 

लागुऔषध, हत्या र सुन तस्करीको मुद्दामा कैद फैसला भएका १० भारतीय भारत छिरेका हुन् । उनीहरूमध्ये एक जना रक्सौलमा पक्राउ परेका छन् ।

उनीहरू नेपाल-भारत सीमा बजार वीरगंज-रक्सौल आसपासका ग्रामीण भेगबाट भारतीय शहर रक्सौल प्रवेश गरेको पाइएको छ । उनीहरू भारत छिरेर घर पुगेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।

यस्तै, नेपालमा सुन तस्करी गरेको मुद्दामा सजाय भोगिरहेका बंगलादेशी नागरिक नेपाल भारत सीमा अन्तर्गत रक्सौलमा पक्राउ परेका छन् । ५ वर्षअघि जेल सजाय तोकिएका बंगलादेशका नागरिक मोहम्मद अब्दुल हसन थाली नेपाल भारत सीमा अन्तर्गत रक्सौलको सीमा नाकामा पक्राउ परेका हुन् । उनी सोमबार काठमाडौँमा जेल तोडफोड भएर कैदीबन्दी भाग्ने क्रममा भागेर भारतीय सीमा हुँदै बंगलादेश जान खोजिरहेका थिए ।

सीमा सुरक्षा बल (एसएसबी)को ४७ औँ बटालियनले सीमामा आवतजावत गर्नेलाई गर्ने चेकजाँचका क्रममा उनी समातिएपछि नेपाल प्रहरीलाई जिम्मा लगाएर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । 

उनले आफू सुन तस्करी मुद्दामा केन्द्रीय कारागारमा रहेको, सबै भाग्दा आफू पनि भागेर आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस