मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

रासस

विहीबार, ०१ साउन २०७७, १९ : १६
मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

सांकेतिक तस्विर

काठमाडौं । सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । 

नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम निस्क्रिय पारेको हो । बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो ।

बमसँगै जनपरिषद् सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेकोलगायतका कुराहरु लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाको कसैले जिम्मेवारी नलिए पनि प्रतिबन्धित नेकपा माओवादीले राखेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएकाले बैंक बन्द रहेको थियो । कार्यालयको आन्तरिक कामका लागि कर्मचारी कार्यालयमा जाने क्रममा बम जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस