नेकपा विवाद अन्त्य कि स्थगित ?

पत्रपत्रिकाबाट

मंगलबार, ३० असार २०७७, ०८ : २३
नेकपा विवाद अन्त्य कि स्थगित ?

काठमाडौँ । गत बुधबार साँझ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा पुरानै अडानमा पेलापेल पर्‍यो ।

दाहालपक्षीय नेताहरूले माग गरेबमोजिम प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पनि पदबाट राजीनामा दिन्न भन्ने ओलीको अडान र कम्तीमा एक पद छोड्नैपर्छ भन्ने दाहालको जिकिरले सहमति भएन । अध्यक्ष दाहालले उनी निकटस्थ नेताहरूलाई बताएअनुसार संवाद सहमतिउन्मुख नभएपछि ओली बैठक कक्षबाट उठेर अर्को कोठामा गए, दाहाल फर्किए । त्यसयता गत शुक्रबार बिहान अध्यक्षद्वयबीच जारी स्थायी कमिटी बैठक एक साता स्थगित गर्ने सन्दर्भमा करिब ५ मिनेट फोन संवाद भएबाहेक थप कुराकानी भएको छैन ।

‘उहाँहरूबीच बिहीबार साँझ साढे ५ बजे भेटघाट हुने तय भएको थियो, तर अन्तिम समयमा आएर स्थगित भयो, शुक्रबार अर्का अध्यक्ष चितवन गइहाल्नुभयो,’ ओलीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘सहमतिका लागि एक हप्ता बैठक सारिएको हो, छलफल होला नि ।’नेकपाले बाढीपहिरोको कारण देखाउँदै बैठक रोक्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा ओली र दाहालबीच केही न केही गोप्य सहमति भएको आकलन गरियो । तर उनीहरूबीचको वार्ताको तिक्ततापूर्ण अन्त्य र त्यसपछिको संवाद शून्यतालाई हेर्दा त्यस्तो कुनै ‘लेनदेन’ भएजस्तो देखिन्न । 

अध्यक्षद्वय निकटस्थ नेताहरूका अनुसार समेत संवाद गरेर सहमति जुटाउनुपर्छ भन्नेबाहेक थप प्रगति भएको छैन । ‘हामीले बिहीबारको भेटमा अध्यक्ष प्रचण्डलाई पार्टी एकता जोगाउन दुई अध्यक्षका बीचमा घनिभूत छलफल हुुनुपर्छ भनेका थियौं, त्यसका लागि अलि लामो समय बैठक रोकौं भन्ने प्रस्ताव गरेका थियौं,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘अहिलेसम्म सहमतिको कुनै त्यस्तो बिन्दु फेला परेको छैन, बरु सहमति गर्न पर्याप्त समय लिनुपर्छ भनेरै एक हप्ता बैठक सारिएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस