सडकमा नेविसंघको नारा–‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १४ : २१
सडकमा नेविसंघको नारा–‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सडकमा आएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले सडकमा प्रदर्शन गरेको हो । 

दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए । 

लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको नेविसंघले जनाएको छ । नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा आएको हो । 

काठमाडौँ बबरमहलमा भएको प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाइँदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’,‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, सरकार तेरो पाराले दुःख पाए साराले’ नारा लगाएका थिए ।