त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, १२ : २३
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ । विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघको भनाइ छ ।

प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले भनेको छ,’विद्यार्थीको सहभागिता बिना हुने कुनैपनि निर्णय विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान हो । यसले विश्वविद्यालयमा लोकतान्त्रिक मूल्य र विधिको खिल्ली उडाएको छ ।’

असार २६ गते बालुवाटारमा तय गरिएको सिनेट बैठकमा विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सहभागी नगराइएको भन्दै संघले बैठकलाई अमान्य ठहर गर्दै तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।

त्यस्तै, नेविसंघले हस्ताक्षर अभियानमार्फत विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न विद्यार्थी समुदायले उठाएको आवाजलाई बेवास्ता गर्दै सिफारिसको भरमा उपकुलपति नियुक्त गरिएको भन्दै यसलाई पनि निन्दनीय र अलोकतान्त्रिक भनेको छ । यसरी विद्यार्थीको आवाज बेवास्ता भएमा चरणबद्ध सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत नेविसंघले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस